
काठमाण्डु, १९ साउन ( भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेसवादी दललाई क्षेत्रीय राजनीति नगर्न सुझाव दिएका छन् ।
बौद्धस्थित हायत होटलमा सोमबार भएको भेटमा मोदीले कुनै क्षेत्र विषेशको नभई राष्ट्रिय एजेण्डाका आधारमा राजनीति गर्न भनेका हुन् ।
उनले क्षेत्रीय राजनीति गर्ने शक्तिलाई भारतले संस्थागत रुपमा सघाउन नसक्ने पनि प्रष्ट्याए । भेटमा मधेस केन्द्रित दलका नेताले मधेसलाई जोड दिन आग्रह गरेपछि उनले यस्तो बताएका हुन् ।
भेटमा सहभागी संघीय सदभावना पार्टीका अध्यक्ष अनिल झाले क्षेत्रीय मुद्धा छाडेर समग्र मुलुकको हितमा लाग्न मोदीले सुझाव दिएको जानकारी दिए ।
उनका अनुसार मोदीले हिमाल, पहाड र तराईको एकैपटक विकास हुनुपर्ने भन्दै मधेसका लागि मात्र विशेष सहयोग गर्न नसक्ने बताएका थिए ।
भेटमा मधेसवादी दलका नेताहरुले हुलाकी राजमार्ग र काठमाण्डु–निजगढ फाष्ट ट्रयाक निर्माणको काम छिटो सक्नका लागि सहयोग गर्न मोदीलाई आग्रह गरेका थिए ।