
काठमाण्डु– सन् २०११ को अन्त्यमा उद्योगी विनोद चौधरी फेडेरेशन अफ इन्डिया चेम्बर्स एण्ड कमर्स एण्ड इन्डष्ट्रिजको वार्षिक कार्यक्रममा सहभागी हुन भारतको गुजरात जानुभएको थियो ।
नेपाल उद्योग परिसघंको अध्यक्षका हैसियतमा उहाँलाई कार्यक्रममा वक्ताका रुपमा बोलाइएको थियो । नरेन्द्र मोदी त्यतिखेर गुजरातको मुख्यमन्त्री हुनुहुन्थ्यो ।
मोदी पनि कार्यक्रममा वक्ताका रुपमा आउनुभएको रहेछ । चौधरीले मोदीले लागू गरेको गुजरातको विकास मोडलबाट आफू प्रभावित भएको भन्दै त्यही वर्षको फागुनमा हुने उद्योग परिसघंको वार्षिक साधारणसभामा वक्तामा रुपमा निम्ता दिनुभएछ । मोदीजीले सहर्ष रुपमा निम्ता स्वीकार गर्नुभएछ । साथै उहाँले नेपालको एकजना जितबहादुर सारु मगर नाम गरेको बालक विगत १२/१३ वर्षदेखि आफ्नो संरक्षणमा रहेर पढिरहेको र नेपाल आउँदा उसलाई पनि सँगै लिएर आउने बताउनुभएछ ।
मोदीले जितबहादुरको नेपालको ठेगाना पत्ता लगाउन पनि आग्रह गर्नुभएछ । विनोद चौधरीले हुन्छ म यो काम गर्छु भन्ने प्रतिबद्धता जनाएर नेपाल आउनुभयो । मेरो घर नवलपरासी भएका कारण उहाँले जितबहादुरका बारेमा मोदीसँग भएको कुरा सुनाउनुभयो । मैले उहाँले दिएको ठेगानाका आधारमा खोजी गरें । सारु थर मगर हो र ठेगाना नवलपरासीको देउराली गाविसको गिरुवारी भन्ने गाउँ को भन्ने बहेक केही थापा थिएन । गिरुवाबारीमा हामीले चौधरी ग्रुपको ‘एग्रो फरेष्ट्री’ नामक कार्यक्रममार्फत चिप्सोना जातको आलु खेती गरिरहका छौं । त्यस हिसाबले त्यहाँका किसानदेखि समाजसेवीसम्म सबैसँग मेरो सम्बन्ध छ । मैले मोटरसाइकलमा पूरै गाउँ घुमेर जितबहादुरका बारेमा बताएँ ।
सबैलाई खोज्न सहयोग गर्नुपर्यो भनें । सोही गाउँका एकजना दिलबहादुर कुमाल भन्ने भाई थिए । उनले मलाई भने कि जितबहादुर सारु भन्ने मेरो सँगै पढेको साथी हो । उ दाजुसँग इण्डिया भएको, उतै हरायो भन्ने बताए । उसले भन्यो कि जितबहादुरको घर यहीं भए पनि उसका परिवार अहिले बसाईं सरेर उ त्यो पारि गाउँमा गएको छ भन्यो । मैले उसलाई लागेको सबै खर्च म बेहोर्छु, उनका परिवारका मानिसलाई तीन घण्टाभित्र मेरो सम्कर्पमा ल्याइदेउ भनें । उ गयो, र दुई घण्टाकै बीचमा जितबहादुरका आमा र दाजुलाई म भएको ठाउँमा ल्याइपुर्यायो । यो सबै काम हुँदा मात्र २४ घण्टा भएको थियो ।
मैले जितबहादुरका आमा र दाजुलाई सोधें तपाईंको परिवारमा कोही हराएको छ ? उहाँहरु डराएको जस्तो गर्नुभयो । पछि थाहा भयो कि उहाँहरुले जितबहादुरले केही गल्ती गरेर पो हामीलाई बोलाइएको को हि ? भन्ने ठान्नुभएछ । मैले उ भारतमा एकदमै ठूलो मान्छेको संगतमा छ भन्ने सुनाएपछि आमा खगिसरा खुसी भएर रुनुभयो । उहाँले मलाई जितबहादुरको हुलिया बताउनुभयो । हाँस्दा गालामा खाल्डो पथ्र्यो, एउटा खुट्टामा ६ वटा औंला छन् । मैले भोलिपल्टै जितबहादुरको परिवारको विवरण र उसको हुलियासहित सबै डकुमेन्ट तयार पारेर चौधरी ग्रुपको हेर्डक्वाटर पठाएँ । त्यताबाट मोदीको असिफमा त्यो डकुमेन्ट फवार्ड भयो ।
यो सहयोगबाट मोदीजी खुसी हुनुभयो । विनोद चौधरी र उहाँबीच धन्यवाद आदानप्रदान भयो । के नमिलेर हो मोदी उद्योग परिसंघको कार्यक्रममा आउन पाउनुभएन । त्यो सँगै जितबहादुर पनि आउन पाएन । उनको परिवारले मलाई त्यसपछि खै त आएन भनेर सोध्नुभयो । मैले अनेक प्रयास गरेर मोदीको असिफको टेलिफोन नम्बर पत्ता लगाएँ र फोनमा कुरा गराइदिएँ ।
त्यसपछि झण्डै तीन वर्षअघि जितबहादुर घर आएर गएको हो । त्यसयता म हरेक हिसाबले जितबहादुरको परिवारसँग नजिक छु । वषौंदेखि परिवारसँग छुट्टिएर बसेको एक नेपाली युवाको पारिवारिक पुनर्मिलन गराउन भूमिका खेल्न पाएकामा म धेरै खुसी छु । आज जितबहादुरकै कारण दुई देशका बीचको भावनात्मक सम्बन्धसमेत नजिकिएको छ ।
रामचन्द्र धिताल, चौधरी ग्रुपका कर्मचारी