काठमाण्डू, २० जेठ– कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थमन्त्रीले गरेको संशोधनले चलखेलको शंका गर्ने ठाउँ दिएको बताएका छन ।
पूर्व अर्थमन्त्री महतले भनेका छन्, ‘जसरी संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा जसरी संशोधन गरियो यो गलत हो । यसले गम्भीर चलखेलको आशंका गर्ने ठाउँ दिएको छ ।’ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यही जेठ १५ गते आर्थिक विधेयक ल्याएका थिए । उक्त विधेयकमा अर्थमन्त्रालयले पटक–पटक हेरफेर गरेर अर्थमन्त्रालयको वेबसाइटमा राखेको छ ।
संसद्मा पेश गरेको र अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा पछिल्लो पटक राखेको आर्थिक विधेयकमा करसम्बन्धी व्यवस्थामै फरकम्पन छ । नेपाल सरकारले संसद्मा दर्ता गरेको आर्थिक विधेयक पृष्ठ ४६४ छ ।
अर्थ मन्त्रालयले फेरबदल गरेर आफ्नो साइटमा राखेको यो विधेयकको पृष्ठ संख्या ४४८ छ । यो विषयमा कुरा गर्दै पूर्वअर्थमन्त्री डा. महतले आर्थिक विधेयकमा अर्थमन्त्रीले गरेको संशोधनले चलखेलको शंका गर्ने ठाउँ दिएको बताएका हुन् ।
विगतमा आर्थिक विधेयकमा प्रावधिक त्रुटि हुँदा समेत संसदीय प्रक्रियाअनुरुप मात्रै संशोधन हुने गरेको पनि उनले बताए ।