सैनिक हेलिकोप्टरको स्कर्टिङमा पशुपति पुगे मोदी

काठमाण्डु टुडे २०७१ साउन १९ गते ३:५१ मा प्रकाशित

काठमाण्डु, १९ साउन– नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीेले अहिले पशुपतिथान मन्दिरको विशेष पूजाअर्चना गरेका छन् ।

modi in pashupati
मोदी आफू बसेको होटल हायातबाट बिहान नौ बजेर २५ मिनेटमा पशुपति परिसर पुगेका थिए ।

उनले मन्दिरमा करिब एक घण्टा बिताए । मोदीले पशुपतिनाथमा विषेश पूजा गर्नुका साथै पशुपति परिसरमै रहेका बासुकी, गुप्तेश्वर, लालगणेश र सूर्यनारायण मन्दिरको दर्शन तथा पूजाआजा गरे । यस्तै उनले बागमति नदी र मृगस्थली क्षेत्रको अवलोकन भ्रमण गर्नेछन् । अरुले उभिएरै पूजा गर्नुपर्ने नियम भए पनि मोदीले बसैरै पूजा गरे ।
मोदी मन्दिर प्रवेश गर्नुअघि नेपाली सेनाका दुईवटा एमआई–१७ हेलिकोप्टरले पशुपतिको आकाशमा गस्ती गरेका थिए । मोदीलाई सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, संस्कृतिमन्त्री भीम आचार्य र पशुपति क्षेत्रसविकास कोषका सदस्यसचिव रवीन्द्र टण्डनले स्वागत गरेका थिए । एक सय आठ बटुकले विशेष मन्त्रोच्चारण गरेर मोदीको स्वागत गरे ।

उनका लागि पशुपति परिसरदेखि मन्दिरको मुल ढोकासम्म रातो कार्पेट बिच्याइएको थियो । उनलाई पञ्चे बाजा, धिमे बाजा र बासुकी बाजा बजाए स्वागत गरिएको थियो ।
भारतबाटै ल्याइएको बीएमडब्लु गाडीबाट झर्ने बित्तिकै मोदीले पशुपति क्षेत्र विकास कोषमा जम्मा भएको भिडलाई देव्रे हात हल्लाएर अभिनन्दन गरेका थिए ।

मोदीले पशुपति क्षेत्र विकास कोषका लागि दुई करोड आर्थिक सहयोग दिएको बताइएको छ । यस्तै उनले पूजामा प्रयोग गरिने करिब तीन करोड रुपैयाँ बराबरको चन्दन उपहार दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us