काठमाण्डु, १९ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार पशुपतिनाथको दर्शन र पूजाआजा गरे ।
त्यस क्रममा उनले करिब तीन करोड भारतीय रुपैयाँ बराबरको चन्दन उपहारका रुपमा पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेका छन् ।
नेपालस्थित भारतीय दूतावासले दिएको जानकारीअनुसार मोदीले पशुपतिको दर्शनका क्रममा उक्त मूल्य बराबरको चन्दन चढाएका हुन् । चन्दन मोदी आउनुअघि नै काठमाण्डु ल्याइसकिएको थियो । पशुपतिमा पूजाआजा र अभिशेकका क्रममा चन्दनको प्रयोग हुने गरेको छ ।
लोकसभा निर्वाचनका क्रममा मोदीका कार्यकर्ताले बाराणसीमा ‘हर हर महादेव’लाई बिगारेर ‘हर हर मोदी’ नारा लगाएका थिए । त्यही कारण हिन्दू धर्मावलम्बीले मोदीले महादेवको अपमान गरेको भन्दै कटु आलोचना गरेका थिए । महादेवको सम्मानलाई लिएर आफूमाथि लागेको आरोप पखाल्न पनि मोदीले महादेवको मुख्य आराधना स्थल पशुपतिमै करोडौंको चन्दन र दूध अभिषेक गर्न लागेका हुन ।
‘हर हर मोदी’ नारालाई लिएर बिहारका पूर्वमुख्यमन्त्री नितिशकुमारले भनेका थिए, ‘मोदीले पहिला अयोध्यामा रामको उपयोग गरे, अब महादेवको उपयोग गर्दर्ैनछन् । यो महादेवको घोर अपमान हो ।’ त्यसैगरी विभिन्न धार्मिक गुरुले पनि त्यसको विरोध गरेपछि मोदीले ‘हर हर मोदी, घरघर मोदी’ नारा नलगाउन आव्हान गर्दै ट्वीट गरेका थिए ।
‘पशुपतिको यात्रा सिद्राको व्यापार’ भने झैं मोदीले पशुपतिको यात्रा गरेर एकातिर महादेवको अपमान गरेको आरोप पखाल्न खोजेको र अर्कोतिर नेपालमा रहेका हिन्दूहरुको मन जित्ने कोसिस गरेको रुपमा कुटनीतिक क्षेत्रमा अथ्र्याइएको छ ।