काठमाण्डु, १९ साउन– नेपाल भ्रमणको अघिल्लो दिन शनिबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल भ्रमणबारे ट्वीट
गरे ।
हिन्दी र अंग्रेजीमा फरकफरक ट्वीट गरेका मोदीले आफ्ना धर्मपुत्र नेपाली युवक रामबहादुर सारु मगरलाई उनका परिवारको जिम्मा लगाउन आतुर रहेको उल्लेख गरेका थिए । नवलपसारी डण्डाका स्थायी बासिन्दा जितबहादुर मोदीसँगै नेपाल आए ।
आइतबार त्रिभुवन विमानस्थलमा अवतरण गर्ने बित्तिकै आफ्ना लागि बस्न व्यवस्था मिलाइएको राजधानीको बौद्धस्थित हायात होटल पुगे । जहाँ भारतीय दूतावसको सहयोगमा काठमाण्डु आएका जितबहादुरका परिवार मोदीको प्रतिक्षामा थिए ।
जितबहादुरकी आमा खगिसरासहित परिवारका सदस्यसँग भेट गरे । भारतबाटै ल्याएका उपहार र केही पैसा दिए । त्यसपछि मोदीले जितबहादुरलाई नेपालमै राख्ने कि फेरि आफूसँगै भारत लैजाने भन्ने प्रश्न गरे ।
जितबहादुरकी आमाले मोदीसमक्ष हात जोडेर आफ्ना छोरालाई सँगै लगेर ठूलो मान्छे बनाइदिन आग्रह गरिन् । त्यसपछि मोदीले जितबहादुरलाई अंगालो मारे र फेरि आफैंले लैजाने बताए ।
मोदीका अगाडि भन्न नसके पनि जितबहादुरकी आमाले छोरासँग सुटुक्क केही दिन घर जान आग्रह गरिन् जितबहादुरले यो कुरा मोदीलाई सुनाए । मोदीले खुसी हुँदै पाँच दिन बिदा दिए ।
भारतमा हराइरहेका जितबहादुरको घर परिवार पत्ता लगाउन भूमिका खेलेका चौधरी ग्रुपका कर्मचारी रामचन्द्र धितालले काठमाण्डु टुडेसँग भने, ‘जितबहादुरले केही दिन घर जानका लागि बिदा माग्यो, मोदीले पाँच दिन बिदा दिनुभएको छ ।’