काठमाण्डु, १८ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफूसँग भेटेका मानिसको भावना जित्न खप्पिस छन् ।
क्षेत्रीय राजनीतिबाट एकाएक भारतको केन्द्रीय राजनीतिमा आउनुमा उनको उक्त क्षमताले समेत काम गरेको ठानिन्छ ।
नयाँ मानिस भेट्न जानुपर्दा अक्सर उपहार लिएर जाने उनको पूरानै बानी हो । प्रधानमन्त्री निर्वाचित भएलगत्तै आफ्नो सपथ ग्रहण समारोहमा सरिक हुन आएका पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफसँगको भेटमा उनले सरिफकी आमाका लागि विशेष सल उपहार दिएका थिए । त्यसले भारतीय सञ्चार माध्यममा निकै चर्चा पाएको थियो ।
आइतबार नेपाल भ्रमणमा आउँदा पनि उनले केही उपहार लिएर आएका रहेछन्, आफूले धर्मपुत्रका रुपमा रेखदेख गर्दै आएका नेपाली युवक जितबहादुर सारुमगरका परिवारका लागि ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै बौद्धस्थित आफू बस्ने हायात होटल पुगेका मोदीले त्यहाँ जितबहादुरका परिवारिक सदस्यसँग भेट गरे ।
त्यस क्रममा उनले जितबहादुरकी आमा खगिसराको हातमा उपहारका रुपमा ५ वटा पोका थमाए । गह्रुँगो रहेको पोकामा केछ भन्ने जितबहादुरका परिवारले थापा पाएको छैन । पोखा नखोलिएकाले के छ भन्ने थाहा नभएको खगिसराले बताइन् । मोदी नेपाल भ्रमण सकेर गएपछि मात्र पोका खोल्ने उनले उल्लेख गरिन् ।
यसैबीच मोदीले जितबहादुरका परिवारलाई एक लाख भारु दिएका छन् ।