काठमाण्डु, १८ साउन– सरकारले नेपाल भ्रमणमा हरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लागि अतिविशिष्ट सुरक्षा व्यवस्था मिलाएको छ ।
उनको सुरक्षामा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुशन्धान विभाग पूरै खटिएको छ । मोदी बस्ने होटल, हिंडेने बाटो र भेटघाट स्थलहरुमा बाक्लो सुरक्षा तैनाथी छ ।
२४ घण्टा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सैनिक विमानबाट हवाई गस्तीमसेत गरिएको छ । नजिकको छिमेकी र विश्वकै उदयीमान मुलुकका प्रधानमन्त्री आफ्नो देशमा आउँदा सरकारले सुरक्षालाई प्राथमिकतामा राख्ने स्वभाविकै हो ।
तर मोदी आफूंलाई भने खासै सुरक्षा चिन्ता नरहेको देखियो । सिंहदरबारमा नेपाली समकक्षी भेटेर संसद बैठकलाई सम्बोधन गर्न मोदी संविधानसभा भवन नयाँबानेश्वरका लागि हिंडे ।
मोदी सिंहदरबारबाट हिंडेको खबर पाएलगत्तै संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, कानुनमन्त्री नरहरि आचार्य र संसच सचिवालयका कर्मचारी उनको स्वागतका लागि हातमा माला लिएर बसे । सिंहदरबारबाट बबरमहल निस्किएर भीआईपी स्कर्टिङको गाडी संविभानसभाभवन बानेश्वर पुग्न बढीमा ३/४ मिनेट लाग्ला ।
मोदी सिंहदरबारबाट हिंडेको १० मिनेट बित्दासमेत नआइपुगेपछि सभाध्यक्ष नेम्वाङ झस्किए । तर मोदी भने नयाँबानेश्वर चोकमा बुलेटप्रुफ गाडीबाट ओर्लिएर सुरक्षाको प्रवाह नगरी सडकमा रहेका आफ्ना नेपाली सकर्थकहरुसँग हात मिलाइरहेका थिए ।
त्यति मात्र होइन उनले सडकमा भेटिएका नेपालीसँग पालैपालो तस्वीरसमेत खिच्न भ्याए ।
उनी गाडी छाडेर सडक पेटीबाट हिंडेका थिए । मोदीको व्यवहारबाट प्रभावित भएर सर्वसाधारणले ‘जनताले मोदीको जय होस्, नरेन्द्र मोदी जिन्दावाद’ भन्ने नारा लगाए ।