सर्लाहीको मलंगवामा हिन्दू र मुस्लिम समुदायबीच झडप

काठमाण्डु टुडे २०८० असोज ५ गते ८:०३ मा प्रकाशित

काठमाण्डु, ५ असोज– सर्लाहीका हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ ।

बिहीबार साँझ गणेशको मुर्ति सेलाउने क्रममा सदरमुकाम मलंगवामा दुई समुदायबीच झडप भएको हो ।

झडपपछि स्थिति नियन्त्रणमा लिन स्थानीय जिल्ला प्रशासन कार्यलयले राति १० बजेदेखि अनिश्चितकालका लागि कफर््यु आदेश जारी गरेको छ । मुर्ति सेलाउन जाने क्रममा हिन्दूहरुको समूह मुस्लिम समुदायको बस्तीमा पुगेका बेला कसैले भिडमा ढुंगा प्रहार गरेपछि घटना भएको दाबी प्रहरीको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले त्यस क्रममा एक युवकमाथि छुरा प्रहार भएको जानकारी दिए । जसका कारण घटनाले उग्र रुप लिएको उनले बताए ।

यादवका अनुसार पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्टबाबा पेट्रोल पम्मसम्म अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको हो ।

सो क्षेत्रमा भेला हुन, आजवतजावत गर्न वा उच्छृङ्खल गतिविधि नगर्न जिल्ला प्रशासनले आग्रह गरेको छ ।

यसअघि कृष्ण अष्टमीका दिन पनि सोही बस्तीमा दुई समुदायका मानिसहरुबीच झडप भएको थियो ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बिहीबार मात्र नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कोशी प्रदेशमा पहिचानवादी र मधेस प्रदेशमा धार्मिक समूहहरुका कारण सुरक्षा चुनौती थपिएको ब्रिफिङ गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us