
काठमाण्डू, २७ असार– नेपाल प्रहरीको केन्द्रीय लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले ३ किलो ४०० ग्राम लागुऔषध कोकिनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक अब्दुस समद जमल मन्सुरी रहेको प्रहरीले जनाएको छ ।
कतार एयरवेजको उडानमार्फत अजरबैजानबाट दुई दिनअघि काठमाण्डू आएका मुम्बई ठेगाना भएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभलतर्फको पार्किंङ क्षेत्रबाट नियन्त्रणमा लिइएको ब्युरोका एसएसपी कृष्ण कोइरालाले जानकारी दिए ।
ब्युरो अन्तर्गत विमानस्थलमा खटिएको टोलीले यात्रुको ‘क्रिमिनल प्रोफाइलिङ’ क्रममा उनीमाथि शंका गरिएको उनले जानकारी दिए । त्यसक्रममा पार्किङमा जाँच गर्दा उनले बोकेर ल्याएको झोलाभित्र कोकिन बरामद भएको कोइरालाले बताए । उनीमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।