कालीगण्डकी करिडोरमा राति गाडी चलाउन रोक

काठमाण्डु टुडे २०८० भदौ २९ गते ८:३७ मा प्रकाशित

नवलपुर, २९ भदौ– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को नवलपुरस्थित कालीगण्डकी करिडोरमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

करिडोर निर्माणको काम प्रभावित हुने भएकाले रातिको समयमा जिल्लामा पर्ने सडक खण्डमा राति सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको सम्भावित जोखिमलाई ध्यानमा राखेर रातिको समयमा यातायात साधन सञ्चालनमा रोक लगाइएको नवलपुरका प्रहरी प्रमुख डिएसपी बेदबहादुर पौडेलले बताए ।

कालीगण्डकी करिडोरले नवलपुरमा ८७ किलोमिटर दूरी समेट्छ । उक्त सडक खण्डको आधाजस्तो भागमा फोन सम्पर्कसमेत नहुने भएकाले रातिको समयमा दुर्घटना भए उद्धारसमेत गर्न नसकिने डिएसपी पौडेलले जनाए ।

उक्त करिडोरबाट जिल्लाका विभिन्न स्थानका साथै तनहुँ, पाल्पा, स्याङ्जा र पोखरा जाने सवारी सञ्चालन हुँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us