मोदीसमक्ष कालापानीबाट भारतीय सेना हटाउन माग

काठमाण्डु टुडे २०७१ साउन १७ गते १२:२३ मा प्रकाशित

काठमाण्डु, १७ साउन– ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आइतबारदेखि हुने नेपाल भ्रमणका क्रममा कालापानीबाट भारतीय सेना हटाउने प्रस्ताव राख्न प्रधानमन्त्री सुशील कोइराललाई आग्रह गरेको छ ।

मोर्चा अध्यक्ष फणिन्द्र नेपाल नेतृत्वको टोलीले कोइरालालाई बालुवाटारमा भेटेर कालापानीबाट भारतीय सैन्य बल पूर्ण रुपमा हटाउन माग गरेको हो ।

मोर्चाले अपमानजनक गोर्खा भर्ती सम्झौता रद्द गर्न पनि माग गरेको छ । तराईको सिंचाइ सुविधामा आघात पुग्ने र राष्ट्रिय स्वाधिनतामा आँच पुग्ने गरी भारतसँग कुनै सन्धि–सम्झौता नगर्न तथा नेपाल–भारतबीचको खुल्ला सिमाना व्यवस्थित र नियन्त्रित गर्नेतर्फ तत्काल कदम चाल्न भनेको छ ।
मोर्चाले बुझाएको ज्ञापनपत्र यस्तो छ ।
सम्माननीय प्रधानमन्त्री श्रीसुशील कोइराला
प्रधान मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार, काठमाण्डु ।
प्रधानमन्त्री महोदय,
तपाईंको निमन्त्रणामा यही श्रावण १८ गतेदेखि सुरु हुने भारतका प्रधानमन्त्री श्रीनरेन्द्र मोदीको नेपाल भ्रमण नेपालका पक्षमा फलदायी बनाउने उद्देश्यले ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा यहाँसमक्ष निम्न लिखितअनुसार ज्ञापनपत्र प्रस्तुत गर्दछ ।
१.    सन् १८१६ मार्च ४ मा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच भएको सुगौली सन्धि भारतसँग लागू हुने गरी आजसम्म अनुमोदन नभएको बरु १९५० जुलाई ३१ मा भएको नेपाल–भारत सन्धिको धारा ८ अनुसार रद्द भएको हुँदा सुगौली सन्धिपूर्वको नेपालका सिमाना कायम गर्नेतर्फ कदम चालियोस् ।

यसका साथै सन् २००७ मा तयार पारिएका १८२ थान स्ट्रिप म्यापमा ९०० वर्ग किलोमिटरभन्दा बढी नेपाली भूभाग भारततिर पारिएको हुँदा ती नक्साका त्रुटि अविलम्ब सच्याइयोस् ।
२.    कालापानीमा सर्वेक्षण गरिनुपूर्व त्यहाँबाट भारतीय सैन्य बल पूर्ण रुपमा हटाइयोस् ।
३.    अपमानजनक गोर्खा भर्ती सम्झौता रद्द गरियोस् ।
४.    नेपालको तराईको सिंचाइ सुविधामा आघात पुग्ने र राष्ट्रिय स्वाधीनतामा आँच पुग्ने गरी भारतसँग कुनै सन्धि–संझौता नगरियोस् ।
५.    नेपाल–भारतबीचको खुल्ला सिमाना व्यवस्थित र नियन्त्रित गर्नेतर्फ तत्काल कदम चालियोस् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us