सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार मात्र, शोक बिदा दिने सरकारको निर्णय

काठमाण्डु टुडे २०८० भदौ २६ गते १६:४२ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– संविधानसभा अध्यक्ष एवं दिवंगत एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार मात्र हुने भएको छ ।

नेम्वाङको बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने सरकारले जनाएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । त्यसअघि एमाले सचिवालय बैठकले बिहीबार मात्र अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि एमाले मुख्यालय च्यासलमा राखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्रीहरु काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, सभामुख देवराज घिमिरे, पूर्वसभामुअ ओनसरी घर्ती, मन्त्रीहरु, उपसभामुख इन्दिरा राना मगर, सांसदहरु, विभिन्न राजनीतिक दलका नेता, एमालेजन, उच्च पदस्य सरकारी अधिकारी, संसद सचिवालयका अधिकारी र कर्मचारी, सुरक्षा निकायका उच्च अधिकारीले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेम्वाङको पार्थिब शीर बुधबार पनि श्रद्धाञ्जलीका लागि एमाले कार्यालयमै राखिने भएको छ ।
बेलायत बस्दै आएका नेम्वाङका जेठा छोरा मिङ्सो भोलि अपराह्न मात्र नेपाल आग्पुग्दैछन् ।

नेपालमै कानून व्यवसायमा संलग्न कान्छा छोरा सुहाङ भने आज राति आउँदैछन् । छोराहरुलाई कुर्न परिवारले आग्रह गरेकाले बिहीबार मात्र अन्त्येष्टि गर्न लागिएको एमाले कार्यबाहक महासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

नेम्वाङको हृदयघातका कारण सोमबार राति १ बजेर ५० मिनेटमा निधन भएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us