माछा मार्ने क्रममा युवकको मृत्यु, सँगै गएका चार जना पक्राउ

काठमाण्डु टुडे २०८० भदौ २२ गते १३:३१ मा प्रकाशित

स्याङजा, २२ भदौ– स्याङजाको वालिङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

वालिङ नपा–६ रसखोलास्थित आमडाली बस्ने ३६ वर्षीय यामबहादुर थापाको मृत्यु भएको स्याङजा प्रहरीले जनाएको छ । प्रहरीले मृतकसँगै माछा मार्न गएका चार जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा वालिङ–६ थापाडाँडा बस्ने ३६ वर्षीय तिलबहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नपा–१० बस्ने ३७ वर्षका दीपेन्द्र अधिकारी, पर्वतको पैँयु गाउँपालिका घर भई हाल वालिङ–६ स्थित तारादेवी ब्लक उद्योगमा काम गर्ने २० वर्षीय अनिल चौधरी र कञ्चनपुरको बेलौरी नगरपालिका–६ घर भई सोही ब्लक उद्योगमा काम गर्ने ६० वर्षीय बलदेव राना छन् ।

माछा मार्न प्रयोग हुने तार, रड र बाँसका भाटा प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us