काँग्रेस, एमाले र एमाओवादी भ्रष्ट, अपारदर्शी र अनैतिक: भट्टराई

काठमाण्डु टुडे २०७१ साउन १७ गते १२:२४ मा प्रकाशित

बुटवल, १७ साउन– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले काँग्रेस, एमाले, एकीकृत माओवादी र जनजाति धारका राजनीतिक दलमा रहेका baburamनेता–कार्यकर्ता ल्याएर नयाँ शक्ति बनाउने उद्घोष गरेका छन् ।
आफैं संरक्षक समाजवादी अध्ययन तथा संवाद केन्द्रले बुटवलमा शनिबार गरेको कार्यक्रममा उनले पूराना दलप्रति जनताको विश्वास गुमेकाले नयाँ शक्तिको विकल्प नभएको बताए ।

भट्टराईले काँग्रेस, एमाले र एमाओवादीको मुल नेतृत्व भ्रष्टाचार, अपारदर्शी र अनैतिक गतिविधिमा लिप्त भएको आरोप लगाए । ‘पूराना पार्टीका नेता नैतिकताको धरालतबाट च्युत भएका छन्’, भट्टराईले भने, ‘भ्रष्टाचार, अपारदर्शी र अनैतिक गतिविधिमा लिप्त भएकाहरुबाट अब नेतृत्व सम्भव छैन ।

ती पार्टीलाई ब्राण्ड ठानेर नबस्न पनि उनले  नेता कार्यकर्तालाई आग्रह गरे । विचार, राजनीति र आदर्श छाडिसकेकाले काँग्रेसलाई लोकतन्त्रवादी, एमालेलाई समाजवादी र एमाओवादीलाई क्रान्तिकारी नठान्न उनको आग्रह थियो ।

‘काँग्रेस, एमाले र एकीकृत माओवादीलाइ ब्राण्ड हो छाड्नु हुँदैन भन्ने नठान्नुस’, उनले भने, ‘विचार, राजनीति र आदर्श छाडिसकेकाले काँग्रेसलाई लोकतन्त्रवादी, एमालेलाई समाजवादी र माओवादी भनेकै क्रान्तिकारी भन्नु र चिसो भनेकै कोकाकोला भन्नु उस्तै हो ।’

चिसो कोकाकोला भन्दा अमिलै भए पनि कागती स्वस्थकर हुने उनको तर्क थियो ।
एकपटकको काँग्रेस सधैंको काँग्रेस, एकपटकको एमाले सधैंको एमाले र एकपटकको माओवादी सधैंको माओवादी हुनुपर्छ भन्ने भ्रम त्याग्न भट्टराईको आग्रह थियो ।
भट्टराईले सबै पार्टीभित्र र देशका हरेक टोल र घरघरमा नयाँ शक्तिको बहस पुर्‍याउने उदघोष गरे । उनले आफ्नो पार्टीभित्र विचारको भन्दा व्यक्तिको वरिपरि घुम्ने संस्कार हाबी भएकाले लोकतन्त्रको प्रतिनिधित्व गर्न नसक्ने टिप्पणी गरे ।

‘रुस र चीनमा पार्टी विशेष र त्यसमा पनि एउटै व्यक्तिको एकाधिकार हाबी भएकाले समाजवाद पतन भयो, ‘भट्टराईले भने, ‘एउटै व्यक्तिको हालीमुहाली भएको हाम्रो पार्टीको जस्तो प्रणाली लोकतन्त्र हुन सक्दैन ।’

भट्टराईले नयाँ शक्तिले गरिबी, बेराजगारी असमानता र पराधीनता अन्त्यलाई उद्देश्य राखेर काम गर्ने बताए । भरसक आफू एमाओवादी नै नयाँ शक्तिमा रुपान्तरण होओस् र
यसैलाई नयाँ शक्ति बनाइयोस् भन्ने मेरो आग्रह छ’, भट्टराईले भने, ‘रुपान्तरण नभए नयाँ शक्तिको जन्मलाई कसैले रोक्न सक्दैन ।’ एमाओवादीले मूल्य, मान्यता र आदर्श छाडेको र पूरानै शक्तिमा परिणत भएकाले आफू त्यस्तो लामो समय त्यस्तो माओवादी भइरहन नसक्ने उल्लेख गरे ।

नयाँ शक्तिको नेतृत्व बनिबनाउ नहुने र आकाशबाट नखस्ने भन्दै उनले कसले नेतृत्व गर्छ भन्ने प्रशन नगर्न आग्रह गरे । एजेण्डा, क्षमता शक्ति कार्यकुशलता र स्वीकर्यताका आधारमा नयाँ शक्तिको नेतृत्व नेतृत्व जन्मने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us