
बुटवल, १६ भदौ–एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति कटाक्ष गरेका छन् ।
एमाले लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन कार्यक्रमलाई शनिबार बुटवलमा सम्बोधन गर्दै ओलीले उनले प्रचण्डको भारत प्रमणलाई लिएर खिल्ली उडाए ।
उनले भारत भ्रमणका क्रममा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन सार्वजनिक गर्नेबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न नसकेको आरोप लगाए । ओलीले ईपिजी प्रतिवेदनबारे मुख खोल्दा भारत रिसाउँछ भन्ने ठानेर गेरु बस्त्र लगाएको र राँगो घिसारेर आएको टिप्पणी गरे ।
‘ईपीजीको प्रतिवेदनको बारेमा किन नभनेको भन्दा सोध्दा रिसाउँछन् कि भनेर नभनेको रे । अनि त्यो राँगा लिन अरूलाई पठाएको भए हुँदैनथ्यो प्रधानमन्त्रीले, राँगा डोर्याउँनुपर्छ त ?’, उनले भने, ‘अब दिइहाले त के गर्ने ? कस्तो नमिलेको, गेरु वस्त्र लगाएको छ । मुर्रा राँगा तानेको छ । गेरु वस्त्र धारणम्, मुर्रा राँगा ताननम् । यस्ता खालका प्रधानमन्त्री ।’
ओलीले एमालेले देशको स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अंखण्डता हुनुपर्छ भन्ने मान्यता राख्ने र राष्ट्रिय स्वाभिमानलाई तल गिर्न नदिने बताए । आफू प्रधानमन्त्री भएका बेला संविधानको सर्वस्वीकार्यता बढाएको तथा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गरेको उल्लेख गरे ।
ओलीले वामपन्थीको खोल ओढेकाहरूले दक्षिणपन्थीसँग मिलेर अदालतमार्फत एमालेको एमालेको सरकार ढालेको भन्दै रोष प्रकट गरे ।