
काठमाण्डु, १६ भदौ– उपप्रधान तथा गृहमन्त्री एवं माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकणमा संलग्नता देखिए उपाध्यक्ष कृष्णबहादुर महरालाई उन्मुक्ति नदिएने बताएका छन् ।
ललितपुरको हरिसिद्धीमा तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियानको शनिबार उदघाटन गर्दै श्रेष्ठले महरा तस्करीमा संलग्न भएको पुष्टि भए सरकारले नछाड्ने बताए । मओवादी भएकै कारण महराले उन्मुक्ति नपाउने उनको प्रष्टीकरण थियो । श्रेष्ठले जुनसुकै तह र पार्टीको मानिस भए पनि गल्ती गरेको पाइए नछाडिने स्पष्ट गरे ।
माओवादी नेतृत्वमा सरकार रहेकाले आफ्नालाई जोगाएर विपक्षीलाई मात्र कारबाही गर्ने हो कि भन्ने आशंका रहेको स्वीकार गर्दै उनले नजिक भएकै कारण कसैले उन्मुक्ति नपाउने बताए ।
‘९ किलो सुन प्रकरणमा महरा जोडिएको पुष्टि भए सरकारले छाड्दैन’, उनले भने, ‘माओवादीको नेतृत्वमा सरकार भएकाले आफूलाई चोख्याउँछ कि भन्ने शङ्का गरेको पाएको छु । कुनै शङ्का नगरे हुन्छ, कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी जुनसुकै पार्टीको जुनसुकै तहको नेता भए पनि सरकारले छाड्दैन ।’
शान्ति प्रकियामा आएपछि माओवादी पनि बिग्रिएको स्वीकार उनले गरे । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डको नेतृत्वमा गोलबन्द हुँदै पार्टी रूपान्तरण गरिने उनको भनाइ थियो ।