
काठमाण्डु, १५ भदौ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक तत्काल संसदमा पेश गरिने बताएका छन् ।
काठमाण्डुमा सुरु ‘नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनीको शुक्रबार उद्घाटन गर्दै मन्त्री बस्नेतले संसदमा छिट्टै विद्युत ऐनको मस्यौदा लैजाने बताए । जारी अधिवेशनबाटै उक्त विधेयक पास हुने दाबी पनि उनले गरे ।
विधेयकले ऐनको रुप लिइसकेपछि ऊर्जा क्षेत्रमा उत्पादनको बृद्धिदेखि प्रसारणलाईको विस्तारका साथै वितरण प्रणालीलाई गुणस्तर बनाउन सहज हुने विश्वास व्यक्त गरे ।
मुलुक विद्युतीय गाडीको युगमा प्रवेश गरिसेकको भन्दै पर्याप्त चार्जिङ स्टेशन निर्माणमा सरकारको ध्यान गएको बताए । ऊर्जा उत्पादन बढ्दै जाँदा खपत बढाउन विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने नीति लिइने बताए ।
भाद्र १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने प्रदर्शनीको उद्देश्य मुलुकमा बढ्दो उत्पादित जलविद्युतको विभिन्न विद्युतीय माध्यमबाट उपभोग बढाइ देशलाई आर्थिक रुपमा सवलिकरण गर्ने रहेको आयोजकले जनाएको छ ।
प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १ सय भन्दा बढी स्टल छन् ।