धरान – पत्नी र तीन छोरीको भविष्य उज्ज्वल बनाउने सपना थियो धरान(१७, बीचघोपाका चक्रबहादुर लिम्बूको । त्यसैलाई साकार पार्न साउदी अरब पुगेर हड्डी घोटे ।
२३ महिनापछि छुट्टीमा फर्कंदा घरमा सबै ठीकठाक थियो । तीन महिना बसेर फेरि उडे । परदेशमा १५ महिना दुःख गरेर गत पुस १७ गते स्वदेश फर्किए । यतिबेला उनी पत्नी विमलाको हत्या आरोपमा हिरासतमा छन् ।
दोस्रोपटक फर्कंदा पहिलेजस्तो थिएन परिवार । पत्नीको मोबाइलमा दिनरात फोन र एसएमएस बजिरहन्थ्यो । बिहान खाना खाएर निस्केकी उनी राति ७र८ बजे मात्रै घर छिर्थिन । माइती र उनी आफैंले पनि पटकपटक सम्झाए । असार २६ गते राति मातेरै घर आएपछि धुमधाम झगडा पर्योए । उनले आवेशमा आएर आग्लोले हाने । विमलाको प्राण गयो । ‘मैले यस्तो कल्पनै गरेको थिइनँ’ इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका लिम्बूले भक्कानिँदै भने, ‘पहिला सबै ठीक थियो, म १५ महिना साउदीमा रहँदा उ निकै परिवर्तन भइसकिछ ।’
परिवारलाई सुख दिन वैदेशिक रोजगारीमा गएकै कारण चक्रको परिवार खण्डित भयो । ६२ सालमा उनले विमलासँग दोस्रो बिहे गरेका थिए । २०५० सालमा पहिलो बिहे गरेका चक्रको वैदेशिक रोजगारीकै कारण सम्बन्ध विच्छेद भएको थियो । आफ्नै बडाबाका छोरासँगको सम्बन्धका कारण उनी गर्भवती भएपछि सम्बन्ध विच्छेद गरेको उनले बताए ।
चक्रको भन्दा कम छैन, मंगलबारेका भीमबहादुर राईको पीडा पनि । ६ वर्षअघि मलेसिया गएका उनले कमाएको दस लाखभन्दा बढी रकम पत्नीलाई पठाए । उदयपुरको कटारी(४ र सुनसरीकै विष्णुपादुका(६ मा पत्नीकै नाममा जग्गा जोरडदिए ।
तर, ०७० फागुन ९ गते ६ वर्षे छोरालाई डेरामा एक्लै छाडेर पत्नी एक्कासि हराइन् । भीम अत्तालिँदै घर फिरे । फागुन १७ गते प्रहरीमा सुन, नगदसहित पत्नी फरार भएको जाहेरी दिए ।
खोजबिन गर्दै जाँदा सोही घरमा डेरा गरी बस्ने पवन नामको व्यक्तिसँग उनी भागेकी रहिछन् । भीमबहादुर छोराको भविष्यका लागि दुवै ठाउँको जग्गा रोक्का गरे पनि सुन र नगद भने माया मारिदिए । मनभरि पीडा बोकेर उनी फेरि मलेसिया फर्किसकेका छन् ।
चक्र र भीम प्रतिनिधि पात्रमात्र हुन् ।
वैदेशिक रोजगारीमा जानेका परिवार खण्डित भएका अरु पनि थुप्रै घटना सुनिँदै आएका छन् । यस्ता घटना बढीजसो पति नै पीडित हुने गरेको पाइन्छ । महिलाअधिकारकर्मी वा प्रहरी दुवैको एउटै भनाइ छ ‘वैदेशिक रोजगारीले पीडित पतिको संख्या बढाउँदै लगेको छ । घरपरिवारमा विखण्डन ल्याउँदैछ ।’