गौरा पर्वले सामाजिक एकता प्रगाढ बनाउँछः प्रचण्ड

काठमाण्डु टुडे २०८० भदौ ७ गते ८:१२ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
गौरा पर्वका अवसरमा बुधबार शुभकामना दिँदै उनले पर्वको सन्दर्भ पारेर खेलिने डेउडा र यस अवधिमा हुने अन्य सांस्कृतिक गतिविधिले गौराको सम्पन्नतापूर्ण सांस्कृतिक ओजलाई झनै बढाउने गरेको बताए ।
‘यस पर्वमा समाजका सम्पूर्ण सदस्य घरपरिवारमा एकत्रित हुने र सामूहिकरूपमा समुदायपिच्छे मुख्य चाडका रूपमा मनाउने परिपाटीले सामाजिक सद्भाव, समुदायको एकता तथा आपसी सहकार्यसहित सामाजिक सम्बन्धलाई जीवन्त बनाउन विशेष भूमिका खेलेको छ,’ सन्देशमा भनिएको छ ।
प्रधानमन्त्रीले बहुजातीय, बहुभाषिक एवं बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक अनुभूति सबै तहमा गराउन यस्ता पर्वले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।

हिन्दू धार्मिक कथ्यका आधारमा महेश्वर र गौरीबीच विवाहको प्रसङ्गबाट यो पर्व परिचित भए पनि पर्यावरणीय दृष्टिले किसानले वर्षायाममा कृषि कर्म पूरा गरेर फुर्सदको समयमा सांस्कृतिक चाड बनाउने क्रममा गौरा स्थापित हुँदै आएको उनको भनाइ छ ।

प्रधानमन्त्रीले सहरीकरणको विकास र बसाइँसराइको बढ्दो प्रभावसँगै यो पर्व सुदूरपश्चिममा मात्र नभएर स्वदेश तथा विदेशका विभिन्न भू–भागमा उत्तिकै महत्त्वका साथ मनाउन थालिएको उल्लेख बताएका छन् ।

उनले सामाजिक, सांस्कृतिक तथा प्राकृतिक मौलिक विशेषता बोकेको गौरा पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको शुभकामनासमेत व्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us