काठमाण्डु – सरकारले सुरक्षा सर्तकता बढाउने नाममा सर्वसाधारण नागरिकमाथि ज्यादती गर्न थालेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आइतबारदेखी हुने नेपाल भ्रमणका क्रममा सुरक्षा व्यवस्था कडा पार्नें नाममा सरकारले सुरक्षा चेक जाँच कडा पारेको छ ।
राजधानीका सडकमा सुरक्षाकर्मीले सर्व साधारणमाथि अनावश्यक रुपमा केरकार गर्ने, उनीहरुका झोला जाँच्ने, जोसुकैमाथि शंकाको दृष्टीले हेर्ने र खानतलासी गर्ने हर्कत गर्न थालेका छन् ।
राजधानीका गौंडा गौंडामा सवारी साधन रोक्दै अभद्र तरिकाले सुरक्षा जाँच भइरहेको छ । त्यसक्रममा सर्व साधारणले अनावश्यक झन्झट व्योहोर्नु परीरहेको भुक्तभोगीको गुनासो छ ।
स्कुल गईरहेका, मन्दिरमा दर्शन गर्न हिंडेका, कार्यालय जाँदै गरेकादेखी बाटोमा हिंडीरहेका बटुृवालाई समेत रोकेर सुरक्षाकर्मीले खानतलासी गर्न थालेका छन् ।
त्रिभुवन विमानस्थल, गौशाला, मोदी बस्ने बौद्धस्थित ह्यात होटल आसपास, चाबहीलदेखी नारायणगोपाल चोक, राष्ट्रपती कार्यालय शितल निवास, शितलनिवासदेखी सिंहदरबार, त्यहाँबाट नयाँ बानेश्वर, सोल्टी मोडस्थित होटल सोल्टीसम्म पुग्ने रुटमा हिंडने सर्व साधारणलाई सुरक्षा जाँचका नाममा सताउने गरिएको छ ।
मोदीका बारेमा थाहै नभएका कतिपय नेपाली समेत एकाएक कडा पारीएको सुरक्षा जाँचबाट कतै मुलुकमा कुनै अनिष्ट हुन लागेको त हैन भनेर आतंकीत भइरहेका छन् । ‘राजधानीमा मोदी आतंक छ’, कालीमाटीमा हिंडीरहेका बटुवा रामजी काफलेले भने ।
‘दश वर्षसम्मको माओवादी विद्रोह र संकटकालको बेलामा पनि यस्तो ज्यादतीपूर्ण चेकीङ भएको थिएन, मोदीका नाममा सर्व साधारणको दैनिक जिवनमा हस्तक्षेप गर्ने हक सरकारलाई छैन’, प्रहरीले अनावश्यक रुपमा खानतलासी गरेर अपमानीत भएका धादीङका शंकर तिवारीले भने ।
मोदीको भ्रमणलाई लक्षीत गर्दै सरकारले काठमाडौंका सडकमा रहेको डिभाइडर हटाएको छ । महानगरिय ट्राफीक प्रहरि महाशाखाले विहीबारदेखी नै सडकका डिभाइडर हटाउन थालेको हो ।
काठमाण्डु महानगरपालिकाले मोदीले यात्रा गर्ने २४ वडाका सडक वरपर सुरक्षा र सरसफाइका नाममा सर्व साधारणलाई सास्ती दिएको हो । अरुबेला शहरको सरसफाईका ध्यान नदिने सरकारले मोदीको दुई दिने भ्रमणका क्रममा काठमाण्डुलाई चिटीक्क पार्न भनेर कर्मचारीको काँधमा काममाथि कामको बोझ थपेको छ ।
सफाई मजदुरहरु अहोरात्र सफाईमा व्यस्त छन्, तर उनीहरुलाई अतिरिक्त पारीश्रमीक दिइएको छैन् ।
‘पंचायतकालमा राजाको सवारी हुँदा अंचलाधिशहरु बञ्जर जमीनमा ठुलै रुख गाडेर हराभरा पार्थे, फुलीरहेका फुलकै बोट उखेलेर राजाको बाटोमा गाडथे, भोलीपल्ट ति रुख र फुलका बोट त्यहाँबाट हराउँथे’, दरबारमार्गमा भेटीएका वाइबी पाण्डेले भने, ‘मोदीको भ्रमणलाई पनि राजाको सवारीजस्तै बनाउन खोजिएको छ । सुरक्षा र सफाइका नाममा हामीलाई तनाव दिइएको छ ।’
हुन पनि सरकारले मोदीको स्वागतका लागि राजधानीमा कम्तीमा पनि ५ वटा स्वागत द्वार बनाउने तयारी गरेको छ । जस अनुसार विमानस्थलबाट बाहिर पशुपति जाने बाटोमा एउटा द्वार हुनेछ ।
संविधानसभा भवनबाहीर, पशुपतिनाथ क्षेत्रमा त्यस्ता ढोकाहरु बनाइनेछ ।
मोदीको ‘चाकडी’का खातिर उद्योग वाणिज्य संघलगायतका विभिन्न संघ संस्थाले पनि आ–आफ्नो पहलमा स्वागत द्वार बनाउने तयारी गरीरहेका छन् ।