सर्लाही, १६ साउन– प्रहरीले लागुऔषधको रुपमा प्रयोग हुने ५० बोतल कोरेक्ससहित एक युवकलाई बिहीबार राति सर्लाहीको ढुङ्ग्रेखोलाबाट पक्राउ गरेको छ ।
प्रहरी चौकी धरहराको गस्ती टोलीले ५० बोतल कोरेक्ससहित सर्लाहीको हजरिया–५ निवासी २६ वर्षीय बाबुलाल महतोलाई पक्राउ गरेको हो ।
ना ३ प ५६०० नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलमा जिल्लास्थित बरहथबाबाट नयाँरोडतर्फ आउँदै गर्दा गस्ती टोलीले शङ्का लागेर जााच गर्दा उनी चढेको मोटरसाइकलको पछाडि बाँधेको रातो झोलामा सय मिलिलिटर दरका ५० थान कोरेक्स फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पृथ्वीनारायण ओलीले बताए ।
इलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा राखेर महतोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भारतीय बजारमा सहजै पाइने लागुऔषधका रुपमा प्रयोग हुने कोरेक्स नेपालमा भने प्रतिबन्धित छ ।