काठमाण्डु, १६ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका क्रममा ६ तहको सुरक्षा दिइने भएको छ ।
पहिलो घेरामा भारतबाटै आएका मोदीका व्यक्तिगत सुरक्षा अधिकारीसँगै नेपाली सेना र प्रहरीका पिएसओ खटाउने तयारी भएको छ ।
स्रोतका अुनसार पिएसको सुरक्षा घेराबाहिर विशेष सुरक्षा दस्ता र एनएसजी ब्ल्याक कमाण्डो टोली रहने छ । तेश्रो घेराको सुरक्षा व्यवस्थाको जिम्मेवारी नेपाली सेनाले पाएको छ ।
सेनाभन्दा बाहिर प्रहरी र प्रहरीबाहिर सशस्त्र प्रहरीको घेरा रहनेछ । सबै घेराभन्दा बाहिर नेपाली गुप्तचर र भारतीय खुफिया एजेन्सीका सदस्यहरु समेत परिचालित हुनेछन् ।
गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले मोदीको सुरक्षामा सेना, प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका सुरक्षाकर्मी खटाइने बताए ।
उनले मोदीको व्यक्तिगत सुरक्षाका साथै निवास र सवारीका बेला कारकेडको सुरक्षा जिम्मेवारी ती निकायले सम्हाल्ने छन् । नेपालको दुई दिने भ्रमणका सिलसिलामा मोदी आइतबार नेपाल आउँदैछन् ।