इलाम, १६ साउन– विद्युत्को पोल र तार टाँगिएको तीन वर्ष बित्दासमेत गजुरमुखी र लुम्दे गाविसमा अझै बिजुली बल्न नसकेकोप्रति स्थानीयले गुनासो गरेका छन् ।
प्राधिकरणको बेवास्ताका कारण गाउँमा बत्ती नबलेको भन्दै स्थानीय आक्रोशित छन् । समयमै बत्ती बाल्न प्राधिकरणले चासो नदिएका धेरै कारण पोल ढलेका छन् ।
नेपाल विद्युत् प्राधिकरण इलामले जिल्लाका गजुरमुखी र लुम्देमा विस्तार गरेको योजना पूरा नसक्द यसरी अलपत्र परेको हो । धुसेनी हुँदै दुई गाउँका लागि विस्तार गरिएको १२० थान पोल र त्यहाँ टाँग्न लगिएको तार अलपत्र परेको छ ।
प्राधिकरणको बेवास्ताले बत्ती नबलेको मात्र होइन, राज्यको लाखौं रुपैयाँ डुबेको छ । विद्युत् विस्तारका लागि प्राधिकरणलाई काम गरिदिन आग्रह गर्न दुवै गाविसका बासिन्दा तीनपटकसम्म प्राधिकरणको कार्यालय पुगे पनि गुनासो सुनुवाइ नभएको गजुरमुखीका गोविन्द लिम्बूले बताए ।
विद्युत् लाइन विस्तारको काम गर्दागर्दै बजेट अभाव भएकाले काम स्थगित गर्नु परेको प्राधिकरणका नायब सुब्बा वेदप्रसाद सापकोटाले बताए ।