
काठमाण्डु , १५ साउन – कृषिमन्त्री हरिप्रसाद पराजुलीले भारतसंग गर्ने भनिएको उर्जा व्यापार सम्झौता गर्न नेपाल सरकार तयार रहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले बिहिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री पराजुलीले नेपाल सरकारको तर्फबाट आफूहरुले भारतसंग गर्ने भनिएको उर्जा व्यापार सम्झौताको सम्पूर्ण तयारी गरिसकेको बताएका छन् ।
साक्षात्कार कार्यक्रममा मन्त्री पराजुलीले भने–नेपाल सरकारले आफ्नो तयारी पूरा गरिसकेको छ । हामी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा उहाँको उपस्थितिमा नै यो सम्झौता गर्न चाहन्छौं । तर सम्झौता गर्ने वा नगर्ने भन्नेवारे बल यतिवेला भारतको कोर्टमा छ ।
मन्त्री पराजुलीले नेपाल–भारतवीचको सम्बन्ध यतिवेला बदलिएको परिस्थित भएको बताउँदै नेपालको आर्थिक विकास सम्पन्न गर्न पनि कृषि क्रान्ति अत्यन्तै आवाश्यक रहेको जिकिर गरे । उनले भने–हामीले नेपालको कृषि क्रान्ति विना आर्थिक विकास हुनै सक्दैन भनेर भनिरहेका छौं तर यसको आधार अहिलेसम्म तयार गर्न सकेका छैनौं ।
नेपाली किसानहरुको जीवनस्तर उकास्न पनि कृषि प्रणालीमा नयाँ आधुनिकरणको आवाश्यकत्ता रहेको बताउँदै मन्त्री पराजुलीले छिमेकी राष्ट्रले कृषि विकासमा अपनाएका आधुनिक प्रविधिको प्रयोग पनि नेपालले अपनाउनुपर्ने बताए ।
उनले हालै काठमाडौंमा सम्पन्न नेपाल–भारत संयुक्त उच्च आयोगको बैठकमा पनि यसका संभाव्यताहरुको वारेमा छलफल भएको जानकारी दिँदै मोदीको नेपाल भ्रमणमा पनि दुई देशवीचमा कृषि सम्बन्धी सहकार्यमा जोड दिने बताए ।
मन्त्री पराजुलीले भने–हामी संग पनि कृषिको ठूलो उत्पादन छ, तर यो उत्पादन छिमेकी राष्ट्र भारतसम्म पु¥याउन पनि हामीले सकेका छैनौं । नेपलाी उत्पादन भारतको बजारमा पु¥याउन नाकामा जोडिएका चेकपोष्टले समस्या आएको छ, त्यसको बारेमा पनि हामी छलफल गर्छौं ।
नेपालमा मासुको ठूलो माँग रहेको बताउँदै मन्त्री पराजुलीले भारतसंग बाख्रा, भेडामा देखिएका व्रिडहरु मगाउने बताए ।
यसरी व्रीड सहज रुपमा नेपाल ल्याउन सके नेपालको आन्तरिक बजारमा मासु तथा मासुजन्य पदार्थमा कुनै समस्या नआउने विश्वास व्यक्त गरे ।