
काठमाण्डु , १५ साउन – खाना पकाउने एलपी ग्यासको निलो सिलिण्डर लागू नहुने भएको छ ।
सरकारले ब्यवसायिक प्रयोजनको लागि निलो रंगको ग्यास सिलिण्डर र घरायसी प्रयोजननको लागि रातो रंगको सिलिण्डर प्रयोगमा ल्याएको थियो । तर दुई रंगको सिलिण्डर प्रयोगमा ल्याएको भए पनि ब्यवसायिक प्रयोजनको सिलिण्डरमा सरकारले मूल्य बढाउने तयारी गरेपछि ग्यास विक्रेताहरु र सरकारबीच विवाद देखिएको हो ।
‘ग्यासमा गरिन लागेको दोहोरो मूल्य र यसको चुनौती’ विषयमा ग्याँस विक्रेता महासंघले बुधवार मिडिया इन्टरनेशनलमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक चन्द्रिकाप्रसाद भट्टले यथासक्य चाँडो ग्यासमा दोहोरो मूल्य कायम गरिने बताए ।
उनले निगमलाई खाना पकाउने ग्यासबाट अहिले प्रति महिना ८८ करोड घाटा ब्यहोरिरहेको उल्लेख गर्दै यथासक्य छिटो दोहोरो मूल्य कायम गरि घाटापूर्ति गरिने जानकारी दिए ।
घरायसी प्रयोजन ग्यासको मूल्य यथावत राखि ब्यवसायिक प्रयोजनका निलो रंगको सिलिण्डरमा मूल्य बढाएर निगमको घाटा न्युन गरिने भट्टले स्पष्ट गरे । उनले ३० प्रतिशत ग्याँस मात्रै ब्यसायिक प्रयोजनमा खपत हुने भएकाले ७० प्रतिशत समस्या समाधान भइसकेको दावी गरे ।
ग्यास विक्रेताहरुले भने दोहोरो मूल्य कायम गरिदा उपभोक्ताले रातो रंगको सिलिण्डर नै नपाउने अवास्था आउने बताएका छन् । ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले दुई रंगको सिलिण्डर बजारमा आउँन छाडिसकेको उल्लेख गर्दै हतारमा कुनै पनि निर्णय नगर्न सरकारलाई सुझाव दिए । दुई रंगको सिलिण्डर प्रयोग गर्ने सवालमा बोटलिङ् प्लान्टबाटै मुख्य समस्या रहेको उनले स्पष्ट गरे ।
विद्यार्थी संगठनहरुले भने ग्यासमा दोहोरो मूल्य छिटो भन्दा छिटो कायम गरिनु पर्नेमा जोड दिएका छन् । एकीकृत माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष हिमाल शर्माले आफूहरुकै आन्दोलनको कारण दुई रंगको सिलिण्डर प्रयोगमा आएको उल्लेख गर्दै दोहोरो मूल्य कायम गरिनु पर्नेमा जोड दिए ।
उनले ग्याँसको दोहोरो मूल्य कार्यान्वयनका लागि ब्यवस्थित मेकानिजम बनाउनु पर्नेमा जोड दिए । विद्यार्थी नेता शर्माले घरायसी प्रयोजनको र ब्यवसायिक प्रयोजनको सिलिण्डर विक्री डिलर छुट्टाछुट्टै गर्न पनि सुझाव दिए ।
यस्तै, नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णले ग्यासमा दोहोरो मूल्य आवश्यक हुने भन्दै त्यसकाबारेमा विद्यार्थी संगठनहरुबीच पनि छलफल भइरहेको बताए ।
यसैगरि, एमाले विद्यार्थी संगठन अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले ग्यासमा दोहोरो मूल्य कायम गर्न ढिला भइसकेकोले तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।