हाकाहाकी घुस माग्छन् कम्प्युटर अपरेटर

काठमाण्डु टुडे २०७१ साउन १५ गते ८:५४ मा प्रकाशित

गौशाला, १५ साउन – जिल्ला मालपोत कार्यालय महोत्तरीमा करारमा कार्यरत दुई जना कम्प्युटर अपरेटरको कर्तुतले अहिले सबैलाई हैरान बनाएको छ ।

operatorसो कार्यालयमा कार्यरत कम्प्युटर अपरेटरद्वय दिलीप साह र शिवनाथ साहले त्यहाँ कार्यरत लेखापढी कानुन व्यवसायी र आम सेवाग्राहीसँग ठाडै घुस मागेर सबैलाई हैरान पारेको सम्बन्धित सबैले बताएका छन् ।

केही दिनदेखि मालपोत महोत्तरीमा कम्प्युटरबाट मोठ भिडाउनुपर्ने र जग्गाको लालपुर्जासमेत कम्प्युटरबाट बनाउनुपर्ने नियम लागू गरेदेखि दुवै कम्प्युटर अपरेटरले बिना घुस एउटा पनि काम नगरेको नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन महोत्तरीका पूर्व अध्यक्ष रामप्रसाद सिंहले बताए ।

दैनिक ७० देखि १०० वटासम्म जग्गा रजिस्ट्रेसन हुने सो कार्यालयमा प्रत्येक व्यक्तिसँग मोठ भिडाउने समयमा अपरेटरद्वयले हरेक कामका लागि ५० देखि र २०० रुपैयाँसम्म लिने गरेको लेखापढी व्यवसायी ललनकुमार दत्तले जानकारी दिए ।

मोठ भिडाउने क्रममा कुनै लेखा व्यवसायी वा सेवाग्राहीले पैसा नदिएमा उसको मोठमा गडबढी देखाइदिने तथा मोठ नमिलेको बताई फकाईदिने गरेको पिडित सेवाग्राहीले दुखेसो पोखे ।

त्यस्तै, उनीहरुले सदरमुकाम जलेश्वरको कुनै जग्गा पास भएमा लालपुर्जा बनाउँदा प्रतिलालपुर्जा रु १५० देखि २०० र कसै कसैसँग रु ३०० सम्म नलिएसम्म लालपुर्जा नबनाउने गरेको एसोसिएसनका सचिव रवीन्द्र भगतले जनाए ।

त्यतिमात्र नभई ती दुवै करारका कर्मचारी भए पनि स्थायीले भन्दा पनि बढी पूmर्ति देखाउने गरेको लेखापढी व्यवसायी विजय पण्डितले बताए ।

घुसको मारमा परेका सेवाग्राही वा लेखापढी व्यवसायीले कार्यालय प्रमुख वा कार्यालयका अन्य कर्मचारीलाई ती दुवैको कर्तुतबारे गुनासो गर्दा पनि उनीहरुले कसैलाई नटेरेको नाम नछाप्ने सर्तमा एक कर्मचारीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us