भारतसँग राष्ट्रिय हितविपरति सम्झौता नगर: साना दल

काठमाण्डु टुडे २०७१ साउन १५ गते ५:२२ मा प्रकाशित

काठमाण्डु, १५ साउन– संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलले भारतसँग राष्ट्रिय हितविपरीतका सम्झौता नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपालले उठाउने एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री सुशील कोईरालाले बोलाएको बैठकमा ती दलले कुनै पनि सम्झौता गर्दा नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्न सुझाव दिएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको छलफलपछि समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुुर सिंहले दुवै देशलाई फाइदा हुने गरी मात्र सन्धि सम्झौता गर्न सुझाव दिएको बताए ।

उनीहरुले मध्यपहाडी राजमार्ग, हुलाकी मार्ग र जलस्रोत विकासमा मोदी भ्रमणलाई केन्द्रित गर्न समेत सुझाएका छन् ।

प्रधानमन्त्री कोइरालाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणमा भएका छलफल र मोदी भ्रमणका क्रममा हुने भनिएको विद्युत खरिद सम्झौता पिटीएबारे सुझाव लिन लिन साना दलका नेतासँग छलफल गरेका हुन् । मोदी आगामी आइतबार नेपाल भ्रमणमा आउने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us