काठमाण्डु, १४ साउन– नेपालका अधिकांश टेलिभिजनहरुले त्यहाँ कार्यरत पत्रकार र कर्मचारीलाई तलब नदिएको भन्दै नेपाल पत्रकार महासंघका
प्रतिष्ठान शाखाका अध्यक्ष र सचिवहरुले हस्तक्षेपकारी भूमिका खेल्न महासंघ नेतृत्वलाई दबाब दिएका छन् ।
सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजिवी पत्रकारहरुको अवस्थाबारे जानकारी लिन महासंघ केन्द्रले बुधबार डाकेको भेलामा उनीहरुले पत्रकारुको अवस्था दयनीय बन्दासमेत महासंघ मुकदर्शक बनेको भन्दै आपत्ति जनाए ।
भेलामा एभिन्यूज, न्यूज २४, सगरमाथा, एबीसी, हिमालय, माउन्टेन र नेपाल वान टेलिभिजन शाखाका अध्यक्षहरुले समयमा तलब नपाएको, तथा न्युनतम पारिश्रमिक र नियुक्ति पत्र नदिई काम लगाउने गरिएको बताए । ती टेलिभिजनहरुले ५ महिनादेखि देखि १ वर्षसम्म तलब नदिएको गुनासो उनीहरुको थियो ।
‘पत्रकारले कुनै दिन १७ घण्टासम्म काम गर्नुपर्छ, त्यतिबेला ओभरटाइम पाइँदैन’, माउण्टेन टेलिभिजन शाखाका अध्यक्ष सुदीप श्रेष्ठले भने, ‘तर कुनै दिन सात घण्टा काम गर्यो भने एक घण्टाको तलब काट्ने गरिएको छ ।’
एभिन्यूज टेलिभिजन शाखा अध्यक्ष विष्णु बस्नेतले काम गरेको तलब लिन समाचार प्रसारण रोक्ने सम्ममा आन्दोलन गर्नुपरेको भन्दै तत्काल
हस्तक्षेप गरी समस्या समाधानमा अग्रसर हुन महासंघ नेतृत्वको ध्यानार्कषण गराए ।
‘पत्रकार र कर्मचारीलाई तलब खुवाउन नसक्नेहरुले टेलिभिजन नचलाए हुने’, बस्नेतले भने, ‘काम गरेको पैसा माग्दा धम्क्याउने र जागिरबाटै गलहत्याउने प्रवृत्ति टेलिभिजनहरुमा छ ।’
उज्यालो एफएम प्रतिष्ठान शाखाका अध्यक्ष श्रीधर पौडेलले आफूहरुले लामो समयदेखि तलब बढाउनुपर्ने माग राख्दै आएको भए पनि
व्यवस्थापन पक्षले अटेर गरेको बताए । उनले आफूहरुले तीनत सूत्रीय माग पेस गरेको भन्दै माग पूरा नभए आन्दोलनमा उत्रने तयारी गरिरहेको बताए ।
पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट समाचार प्रमुख रहेको इमेज च्यानलमा कार्यरत अधिकांश पत्रकारले न्युनतम पारिश्रमिक नआएको गुनासो उक्त शाखाका सचिव र अध्यक्षको थियो ।
पारिश्रमिक समयमै दिने गरिएको भए पनि पाउने पारिश्रमिकले पत्रकार बाच्नै नसक्ने उनीहरुले बताए । नेपाल टेलिभिजन शाखाका अध्यक्ष र सचिव बोलेनन भने कान्तिपुर एफ र टेलिभिजनका अध्यक्ष र सचिवले न्युनतम पारिश्रमिक नपाएको बताए ।
न्युनतम पारिश्रमिकको अभावमा धेरै पत्रकारले सूचना विभागबाट पत्रकार परिचयपत्र पाउन नसकेको उनीहरुले उल्लेख गरे । भेलामा रेडियो मैत्री शाखाका अध्यक्ष श्रीधर न्यौपानेले पत्रकार महासंघप्रति पत्रकारहरुको विश्वास घटेको भन्दै चुनावका बेला गरिएको प्रतिबद्धताअनुसार काम गर्न नेतृत्वलाई आग्रह गरे ।
पत्रकार महासंघलाई मिडिया मालिकहरुको हेपेको भन्दै कडा रुपमा प्रस्तुत हुने बेला आएको बताए । ‘पत्रकार र पत्रकार महासंघले भनेको पनि टुर्नुपर्छ र भन्नेजस्तो भएको छ’, उनले भने, ‘श्रमजिवी पत्रकारका मुद्धामा गम्भीर हुनुस्, नत्र महासंघको काम छैन ।’
शाखा अध्यक्ष र सचिवहरुका कुरा सेनेपघि महासंघ अध्यक्ष महेन्द्र विष्टले श्रमजिवी पत्रकारका मुद्धामा महासंघ गम्भीर रहेको बताए ।
उनले रुम प्रतिष्ठानमा कार्यरत पत्रकारका समस्या समाधानका लागि पहिलो चरणमा सबैसँग अन्तरक्रिया गर्ने र त्यसले समाधान नदिए आन्दोलनमा जाने बताए ।
पत्रकार महासंघलाई ट्रेड युनियनको अवधारणाअनुसार सञ्चालन गर्न ढिलाइ भइसकेको उनको भनाइ थियो । भेलामा महासंघका ४२ वटा शाखाका अध्यक्ष र सचिव सहभागी थिए ।