
काठमाण्डु, १८ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने भएको छ।
सोमबार नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने बताएका हुन ।
मन्त्री साउदले चीन र भारतको उदाउँदो अर्थतन्त्रबाट नेपालले लाभ लिनुपर्ने पनि बताए । उनले भने, ‘चीन र भारतको इमर्जिङ इकोनोमीबाट हामी प्रतिफल लिन सक्दछौँ।
लाभ लिन सक्दछौँ। त्यो लाभ लिने सन्दर्भमा प्रधानमन्त्रीज्यूको आगामी सेप्टेम्बरमा हुने चीन भ्रमण महत्त्वपूर्ण हुनेछ।सार्थक हुनेछ। यो विश्वास म तपाईंहरुलाई व्यक्त गर्न चाहन्छु ।’
साउदले चीन महाशक्ति राष्ट्रको रुपमा इमर्जिङ भएर अगाडि बढिरहेको बताएका छन ।उनले भने, ‘चीनको त्यो विकासको छलाङलाई पनि नेपालको सन्दर्भमा सकारात्मक उपयोग गर्नु उपयुक्त हो ।’
साउदले प्रधानमन्त्रीको भारत भ्रमणका बेलामा ऐतिहासिक उपलब्धिहरु गरेको बताएका छन ।उनले भने, ‘हाम्रो जल शक्तिको निर्यातको प्रत्याभूति दिने र कुनै देशमा सम्झौता भएको थिएन।
अहिले पहिलोचोटि भारतले १० हजार मेगावाट बिजुली दशभित्र किन्न तयार छ भनेर हामीसँग एमओयू गरेको छ।विद्युत बेच्ने बजार उपलब्ध भइसकेको छ। हामीले १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्न सक्छौँ कि सक्दैनौँ, त्यो हाम्रो चुनौती छ ।’