मभन्दा राम्रो कोही आए प्रधानमन्त्री छाड्न तयार छुः प्रचण्ड

काठमाण्डु टुडे २०८० असार १८ गते ११:१९ मा प्रकाशित

काठमाण्डु, १८ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री आफूभन्दा राम्रो काम गर्न सक्ने कोही आए पद छाड्न तयार रहेको बताएका छन् ।

गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले जनताको जीवनमा परिवर्तन ल्याउने विश्वास साथ आउनेलाई ठाउँ छोड्न गाह्रो नहुने टिप्पणी गरे ।

‘हाम्रोभन्दा राम्रो विचार लिएर आउने, हाम्रोभन्दा धेरै त्याग र तपस्या गरेका कोही अगाडि आउने र जनताको जीवनमा परिवर्तन ल्याउने विश्वास दिलाए भने ठाउँ छा्ड्न गाह्रो छैन’, उनले भने, ‘तर, राम्रा एजेण्डा र उद्देश्यसहित कोही आएका छैनन् ।’ प्रचण्डले थोरै मात्र हेलचेक्र्याइँ भए प्रणाली र मुलुककै भविय दुर्घटनामा पर्ने उल्लेख गरे ।

आफ्नो नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा काम गरिरहेको बताए । सामान्य सुधारबाट मात्र परिवर्तनको सम्भावना नरहेको भन्दै उनले विकास, सुशासन र समृद्धिका लागि अन्तिम युद्ध लड्न आफू प्रधानमन्त्री भएको दाबी गरे ।

‘म यसअघि दुईपटक प्रधानमन्त्री भइसकेको थिएँ’, उनले भने, ‘फोटा त सिंहदरबार र बालुवाटारमा झुण्डिएका छन् । अन्तिम लडाइँ लड्नुपर्छ भनेर यसपालि प्रधानमन्त्री भएको हो । म नभए हुँदैन जस्तो लाग्यो मलाई यसपटक ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us