नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु, फेरि अवरुद्ध हुने सम्भावना

काठमाण्डु टुडे २०८० असार १८ गते ७:४६ मा प्रकाशित

चितवन, १८ असार– पहिरोका कारण अवरूद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गएराति २ बजे पहिरो खस्दा अवरुद्ध सडक पाँच घण्टापछि सञ्चालनमा आएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान साँढे ७ बजेतिरबाट सडक पुनः सञ्चालनमा आएको हो । पहिरो पन्छाएसँगै दुईतर्फी सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ । पहिरोसँगै खसेको ढुंगा लागेर ट्रक चालक घाइते भएका थिए भने ट्रक सडक किनारामा पल्टिएको थियो ।

उक्त ट्रक पन्छाएर सडक किनारामा राखिएको छ । गत आइतबार सोही स्थानमा आएको पहिरोका कारण १८ घण्टा बन्द भएको सडक त्यसयता पटकपटक बन्द हुँदै र सुचारु हुँदै आएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले पुनः पहिरो खस्ने सम्भावना कायमै रहेकाले अत्यावश्यक बाहेक उक्त सडकखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us