शेरबहादुर देउवा मसँग कुरा गर्न डराउँछन्ः ओली

काठमाण्डु टुडे २०८० असार १७ गते २१:१२ मा प्रकाशित

काठमाण्डु, १७ असार– एमाले अध्यक्ष केपी ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा आफूसँग कुरा गर्न डराउने गरेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय राजनीतिका विषयमा आफूले संवाद गर्न खोजे पनि देउवा डराउने गरेको टिप्पणी ओलीले गरे । संघीय संसद भवन नयाँबानेश्वरमा आइतबार संसदीय मामिलाका पत्रकारहरुको भेटमा उनले काँग्रेस नेतृत्वसँग लामो समयदेखि कुराकानी नभएको बताए । एमाले र काँग्रेस मिलेर सरकार गठनको प्रयास भएको भन्ने चर्चाबारे सोधिएको प्रश्नमा उनले भने काँग्रेस नेताहरुसँग आफूहरुको हिमचिम नरहेको जवाफ दिए ।

‘भेटेको बेलामा हाई हेलो गर्न खोज्यो भने पनि काँग्रेसका नेताहरु डराउनुहुन्छ । कसैले देखि पो हाल्यो कि भनेर पल्याक र पुलुक हेर्नुहुन्छ उहाँहरु’, ओलीले भने, ‘काँग्रेससँग हाम्रो कुनै हिमचिम छैन ।’ डेढ वर्ष प्रधानमन्त्री भएका बेला देउवाले एकपटक पनि आफूसँग संवाद नगरेको ओलीको भनाइ थियो । भेट हुन्छ कि भन्ने त्रासका देउवाले संवैधानिक परिषदको बैठक समेत नबोलाएको आरोप ओलीले लगाए ।

निर्वाचनपछि आफूले काँग्रेस सभापति देउवासँग मिलेर सरकार बनाउनेबारे कुरा गर्न चाहेको स्वीकार गरे । ओलीले २०७९ पुस १० गते आफूले बालुवाटार गएर छलफल गर्न चाहे पनि देउवाले नबोलाएको खुलाए । तर, देउवाले साँझ ५ बजेसम्म पर्खाएर संविधानको धारा ७६ (३) अनुसार प्रतिनिधिसभाको ठूलो दलका हैसियतमा प्रधानमन्त्री बन्न चाहेकाले प्रचण्ड प्रधानमन्त्री बनेको खुलाए ।

‘मैले कुरा गरौं न भन्दा देउवाजीले अहिले ७६ (३) अनुसार प्रधानमन्त्री भइहालौं, विश्वासको मत लिने समय एक महिना हुन्छ । एक महिनाभित्रमा कुरा गरौंला नि भन्नुभयो’, ओलीले भने, ‘त्यसपछि प्रचण्ड मलाई भेट्न बालकोट आएर प्रधानमन्त्री खान मन लाग्यो भने, मैले बनाइदिएँ ।’

काँग्रेसको क्याल्कुटेर बिग्रिएकाले राजनीतिबारे उसले गरिरहेको हिसाब नमिल्ने तर्क गरे । ओलीले एमालेलाई कमजोर पार्न काँग्रेस सक्रिय रहेको तर, एमालेथप मजबुत हुने दाबी गरे । एमालेलाई सरकारमा जान कुनै हतारो नरहेको समेत उनले बताए ।

्र

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us