नारायणगढ–मुग्लिन सडक भएर यात्रा नगर्न प्रहरीको अपिल

काठमाण्डु टुडे २०८० असार १५ गते ९:१७ मा प्रकाशित

भरतपुर, १५ असार– माथिबाट खसेको सुख्खा पहिरोका कारण बिहीबारदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड अझै खुलेको छैन ।

प्रहरीले शुक्रबार बिहानसम्म लगातार प्रयास गरे पनि पहिरो पन्छाएर यातायात सुचारु गराउन नसकिएको जनाएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा बिहीबार दिउँसो सुक्खा पहिरो खसेको थियो ।

पहिरो खस्ने क्रम अझै रोकिएको छैन । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले पहिरो झरेर सडकमा पहाड बनेको बताए । पहिरो पन्छाउन अझै कम्तिमा ५/७ घण्टा लाग्न सक्ने उनले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि राजमार्गका दुर्वतर्फ सवारी साधनको लामो लाइन लागेको छ । काठमाण्डुबाट भरतपुरतर्फ आएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् ।

नारायणगढबाट काठमाण्डु र पोखरातर्फ जान लागेका सवारी साधन जलविरेमा रोकिएको छ । प्रहरीले पहिरो झर्ने क्रम नरोकिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us