कोशी प्रदेशका मुख्यमन्त्री पदमुक्त हुँदै

काठमाण्डु टुडे २०८० असार १४ गते ९:२४ मा प्रकाशित

विराटनगर, १४ असार– मुख्यमन्त्री हिक्मत कार्कीको विश्वासको मत लिने प्रयोजनका लागि कोशी प्रदेशसभाको अधिवेशन सुरु हुँदैछ ।

दिउँसो १ बजे सुरू हुने अधिवेशनमा मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्रीले पहिले विश्वासको मत माग्नेसम्बन्धी प्रस्ताव बैठकमा पेश गर्ने जानकारी दिए । यद्यपि अधिवेशनको पहिलो बैठकमा अध्यादेश टेबल गर्नुपर्ने सवैधानिक प्रावधान छ ।

बजेट ल्याउने पूर्वसन्ध्यामा माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता गरेपछि अल्पमतमा परेका कार्कीले वर्षे अधिवेशन अन्त्य गरी ३२ जेठमा अध्यादेशमार्फत बेजट ल्याएका थिए । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनैपर्ने संवैधानिक व्यवस्था छ । माओवादीले २३ जेठमा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना दुई मन्त्री फिर्ता बोलाएको थियो ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरुले मत नदिए कार्की स्वतः मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् । एमाले र राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई ह्विप लगाएका छन् । ९३ सदस्यीय प्रदेशसभामा बुहमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ । एमालेका ४० र राप्रपाको ६ गरी सत्ता गठबन्धनको पक्षमा ४६ मत मात्र छ ।

केन्द्रीय सत्ता गठबन्धनमा कांग्रेसका २९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ सांसद छन् । तर, माओवादीबाट निर्वाचित बाबुराम गौतम सभामुख छन् । सभामुखले निर्णायक अवस्थाबाहेकमा मतदान गर्न मिल्दैन । यस्तो अवस्थामा वर्तमान कार्की नेतृत्वको प्रदेश सरकारले निरन्तरता पाउन र नयाँ सरकार बन्न जटिलता छ ।

काँग्रेस–माओवादी गठबन्धनले आफ्नै नेतृत्वको सरकार गठनको पहल गर्ने निर्णय गरेका छन् । विश्वासको मत नपाएर पदमुक्त भए पनि अर्को सरकार नबन्दासम्म कार्की कामचलाउ सरकारको मुख्यमन्त्री रहनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us