
काठमाण्डु, १३ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति ।रवि लामिछानेबीच प्रतिनिधिसभामा बुधबार सवालजवाफ भयो ।
लामिछानेले प्रधानमन्त्रीलाई स्वास्थ्य र शिक्षा क्षेत्रमा सरकारको प्रगतिबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्रीले सरकारले स्वास्थ्य क्षेत्रमा तत्काल नागरिकले महसुस हुने गरी काम भएको बताए ।
वीर अस्पतालका ७ सय सय्या सर्वसाधारण बिरामीका लागि निःशुल्क व्यवस्था गरिएको विषयलाई उपलब्धीका रुपमा लिनुपर्ने बताए । ‘कुरा उठ्यो, स्वास्थ्य सम्बन्धी पनि भर्खरै अस्पतालमा जनताले प्रत्यक्ष पायो के भनेर । मैले प्रस्तुत गरेको कुरामा सबै चिज ठीकठाक भई नै सक्यो भन्ने अर्थमा बुझ्नु हुँदैन । गर्न अझै धेरै बाँकी छ । भर्खरै वीर अस्पाताले ७०० शय्या गरिबलाई निःशुल्क गर्ने निर्णय भएको छ । यो जनताले तत्कालै पाएको कुरा हो,’ उनले भने ।
लामिछानेले नयाँ पुस्ताले नदेखेको कुरामा आफ्नो सहमति रहेको भन्दै भौतिक संरचना नभत्काई, हत्या हिंसा र अंगभंग नभइकन, मानिस बेपत्ता नभई शान्तिपूर्ण ढंगले पनि परिवर्तन हुन सक्ने कुरा पनि देख्यो भनेर थपिदिन आग्रह गरे । जवाफमा प्रधानमन्त्री प्रचण्डले नदेखेरै भएको फाइदा जोड्नु उचितै हुने टिप्पणी गरे । प्रचण्डले अहिले मतदाताका रुपमा आएको पुस्ताले लोकतन्त्र बहालीपूर्वको मुलुकको अवस्था नभोगेको उल्लेख गरे ।
नयाँ पुस्ताले एक गाग्रो पानी लिन तीन घण्टा खोला धाउनुपरेको, तीन चार घण्टा हिंडेर विद्यालय गएको, शाही सैनिकले टेलिफोन र इन्टरनेटको तार काटेको, एयरपोर्ट र सडक बन्द गरेर आवतजावत रोकेको समाचार कक्षमै पसेर सम्पादकीय अधिकार अंशुक लगाएकोबारे जानकारी लिनुपर्ने उनले बताए । लोकतन्त्र अब भावनात्मक आधारले मात्रै सुदृढ हुँदैन । त्यसलाई तथ्यात्मक आधार चाहिन्छ ।
मतदाताका रूपमा देशमा एउटा नयाँ पुस्ता तयार भइसकेको छ । जसलाई युद्ध देख्नुपरेन । बिहान एक गाग्री पानीका लागि तीन घन्टा खोला धाउनुपरेन । विद्यालय पुग्न तीन चार घन्टा पैदल हिंड्नु परेन । त्यो पुस्ताले यो देशमा कुनै दिन इन्टरनेट र टेलिफोन काटेर, एयरपोर्ट र सडकसम्म बन्द गरेर देशमा चलाइएको शाही शासन देखेन । सञ्चार गृहमै पसेर बर्दीधारी सैनिकहरूले सम्पादकहरूलाई के छाप्ने, के देखाउने र के सुनाउने भनेर निर्देशन दिन्थे भन्ने इतिहास आज सोसल मिडियामा उन्मुक्त पुस्तालाई थाहा छैन,’ प्रधानमन्त्रीले भने ।
उनले विगतमा देशमा दूधकै नदी बहन्थ्यो झैं गरी भाष्य खडा गरेर नयाँ पुस्तालाई लोकतन्त्रबाट दिग्भ्रमित गर्न खोजिएको टिप्पणी उनले गरे । प्रचण्डले २९ वर्षअघि र पछि नेपाली समाज र जनताको जीवनमा आएको परिवर्तनलाई बिर्साउन नखोज्न चेतावनी दिए ।