अदालतको अवहेलना गरेको भन्दै प्रदेशमन्त्रीविरूद्ध रिट दायर

काठमाण्डु टुडे २०८० असार १२ गते १७:३३ मा प्रकाशित

काठमाण्डु ,१२ असार-विवादास्पद अभिव्यक्ति दिएका कोशी प्रदेशका मन्त्री बुद्धिकुमार राजभण्डारीविरूद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ।

बुधबार अधिवक्ता उद्धवचन्द्र घिमिरे र उच्च अदालत विराटनगरका रजिस्टार जितेन्द्रबाबु थपलियाले अवहेलना मुद्दा दर्ता गरेका हुन् । विराटनगरस्थित एउटा निजी कलेजको कार्यक्रममा बोल्ने क्रममा मन्त्री राजभण्डारीले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले पैसा दिएकै भरमा न्यायाधीशले उनलाई हटाउने सरकारी आदेशविरूद्ध स्टे अर्डर दिएको बताएका थिए।

अदालतमा दायर रिटमा अधिवक्ता घिमिरेले मन्त्री राजभण्डारीले दिएको अभिव्यक्ति नेपालको संविधानको धारा १३६ न्याय प्रशासन २०७३ को दफा १७ बमोजिम अदालतको अवहेलना बनेको उल्लेख छ। मन्त्री राजभण्डारीले अदालतको अवहेलना गरेको भनी तयार पारेको प्रतिवेदनका आधारमा मुद्दा दायर गरेको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

निवेदनमा मन्त्री राजभण्डारीलाई अदालतको अवहेलनामा १ वर्ष कैद र १ लाख रुपैयाँ जरीवाना गर्न माग गरिएको छ। यसअघि उच्च अदालत बारले पनि मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us