
काठमाण्डु, ११ असार– कोशी प्रदेश सरकारले विशेष अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।
मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत दिने प्रयोजनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष अधिवेशन आह्वानको सिफारिस गरिएको हो ।
मुख्यमन्त्री कार्कीले आगामी असार १४ गते दिउँसो १ बजे विश्वासको मत लिने प्रयोजनाका लागि प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेकाको प्रदेश सरकारका प्रवक्ता भक्ति सिटौलाले जानकारी दिए । माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएसँगै कार्की नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको थियो ।
संविधानको धारा १८८ उपधारा (२) बमोजिम मुख्यमन्त्रीले सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिन नसके मुख्यमन्त्री कार्की स्वतः पदमुक्त हुनेछन् । ९३ सदस्यीय प्रदेशसभामा हाल सरकारमा रहेका दुई दल एमालेका ४० र राप्रपका ६ सांसद छन् ।
बहुमत जुटाउन ४७ सदस्यको समर्थन चाहिन्छ । यथास्थितिमा विश्वासको मत पाउन उक्त गठबन्धनलाई एक सांसदको समर्थन पुग्दैन । अर्को गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाको पनि ४६ सांसद छन् । कांग्रेसका २९, माओवादीका, १२, समाजवादीको ४ र जसपाको १ जना सांसद छन् ।
माओवादीका बाबुराम गौतम सभामुख भएकाले उनले बराबरी भएको अवस्थामा बाहेक मतदानमा भाग लिन पाउँदैनन् । यस्तो अवस्थामा कोशी प्रदेशमा नयाँ सरकार बन्न कठिन छ ।