
काठमाण्डु, ९ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सञ्जालमार्फत असहिष्णुता प्रदर्शन नगर्न पार्टी कार्यकर्ता र सुभेच्छुकलाई आग्रह गरेका छन् ।
आफ्ना समर्थकहरु सामाजिक सञ्जालमार्फत असहिष्णु भएर गालीगलौजमा उत्रिएको आरोप लागेको भन्दै उनले संयम हुन आग्रह गरे । पार्टीको काठमाण्डु–धादिङ सम्पर्क भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै उनले राजनीतिमा ताली र गाली दुवै ग्राह्य हुने बताए ।
लामिछानेले राजनीतिमा लाग्नेहरु अरुलाई गाली नगरी सुसंस्कृत हुनुपर्ने उल्लेख गरे । उनले नेता इमानमा चलुञ्जेलसम्म मात्र उसको रक्षा गर्नुपर्ने र इमान छाडेको दिन कसैले बचाउन नसक्ले बताए । उनले कार्यकर्तालाई विरोधी पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकसँग तर्कका आधारमा बहस गर्न निर्देशन दिँदै अमर्यादित गालीगलौजमा नउत्रिन निर्देशन दिए ।
लामिछानेले अरु पार्टीमा पनि राम्रा मानिसहरु रहेको भन्दै राम्रो काम गर्दा सबैको प्रशंसा गर्न पनि पार्टी पंक्तिलाई निर्देशन दिए ।
‘अरु पार्टीका नेताहरुले राम्रो काम गर्दा प्रशंसा गर्ने गरौं । कसैले पनि तल्लो स्तरमा झरेर अरुको आलोचना नगरौं । तर्कका आधारमा बसह गरौं’, उनले भने । फरक प्रसंगमा उनले निष्ठापूर्वक जनताको सेवामा लाग्न सकिए ०८४ को आमनिर्वाचनमा रास्वपा पहिलो दलका रुपमा स्थापित हुने दाबी गरे ।