काठमाण्डु महानगरको वार्षिक नीति तथा कार्यक्रम पारित

काठमाण्डु टुडे २०८० असार ८ गते १३:५० मा प्रकाशित

काठमाण्डु, ८ असार- काठमाण्डु महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०–०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।

आज राष्ट्रिय सभा गृहमा बसेको १३ औं अधिवेशनको दोस्रो बैठकमा छलफलपछि नीति कार्यक्रम पारित गरिएको हो । सांस्कृतिक शहर, समृद्ध महानगर’को नारा सहित आएको नीति तथा कार्यक्रममा १७ जना कार्यपालिका सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।

अधिवेशनको पहिलो बैठकमा महानगरपालिकाका प्रमुख शाहले, चालू आर्थिक वर्षका कार्यक्रमलाई ५२ बुँदामा समीक्षा गर्दै आगामी वर्षका लागि ११ बुँदामा नीति र १२५ बुँदामा कार्यनीति पेश गरेका थिए ।

नगरसभा सदस्यहरुले सरसफाइमा प्रविधि र उपकरण थप गर्ने, विद्यालयमा दिइँदै आएको दिवा खाजाको रकम पुनरवलोकन गर्नुपर्ने विषय उठाएका थिए । यस्तै लामो समयदेखि करार सेवामा रहेका कर्मचारीहरुलाई प्रक्रिया पूरा गरेर स्थायित्व प्रदान गर्नु पर्ने, निःशुल्क वितरण हुने औषधि वडाबाट प्रदान गरिनुपर्ने, सहकारीमा रहेको जोखिमयुक्त बचतलाई जोगाइदिनु पर्ने लगायतका सुझाव उनीहरुले दिएका थिए ।

प्रस्तुत नीति तथा कार्यक्रममाथि नगरसभा सदस्यहरु नवराज पराजुली, न्हुच्छेकाजी महर्जन, विमल होडा, गायत्री पुडासैनी, भगवान बुढाथोकी, शारदा सुवेदी, कल्पना सुन्दास, हर्कबहादुर खाती, आशा श्रेष्ठ रौनियार, श्रीराम राई, टेकराज अधिकारी, सन्तोष ढुङ्गेल, सरु अधिकारी, सन्ध्या खनाल, रत्नाकर बज्राचार्य, रसला तण्डुकार र शर्मिला परियारले टिप्पणी गरेका थिए ।

महानगरले आगामी आवको नीति तथा कार्यक्रममा वन स्टप सर्भिस सेन्टरमा आधारित यातायात प्रणाली सञ्चालन गर्ने, परम्परागत खाद्य तथा पेय पदार्थको ब्राण्डिङ गरेर निर्यात गर्ने, १० वटा महानगर गौरवका योजना सञ्चालन गर्ने, शहरी सेवा, सुविधा र शहरी शासनका सवाललाई दिगो बनाउन स्वर्णिम योजना सञ्चालन गर्ने लगायतका कार्यक्रम समावेश छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us