
काठमाण्डु, ३१ जेठ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा माओवादी केन्द्रलाई पुनर्निर्माण गर्नुपर्ने बताएका छन । आज बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित डि आर शर्मा पौडेलको चौथो स्मृति सभामा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले माओवादी केन्द्रलाई जनताको पार्टी र शक्तिशाली पार्टी बनाइने बताएका छन । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले अब बस्ने केन्द्रीय समिति बैठकले पार्टी पुनर्निर्माणको निर्णय गर्ने बताएका छन ।
उनले अब पार्टीमा कसैलाई काखा र पाखा नगरिने भन्दै साझा पार्टी बनाउने अभियानमा खट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन ।
उनले सरकारले अव भ्रष्टाचारी कसैलाई नछोड्ने भन्दै उनले आफै पार्टीका नेता कार्यकर्ता भए पनि कानुनी कठघरामा उभ्याइने बताएका छन ।
उनले सरकारलाई असफल बनाउन चौतर्फी षडयन्त्र भएको भन्दै षडयन्त्र चिर्दै सरकारलाई सफल बनाएरै छाड्ने बताएका छन ।
सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले पार्टी सङ्कटमा परेको बेला डिआर पौडेलले अग्र भागमा रहेर समाधान खोज्ने गरेको स्मरण पनि गरेका छन ।