मितेरी सहकारी ठगी प्रकरणमा पक्राउ परेका भण्डारीविरुद्ध ७ दिन म्याद थप

काठमाण्डु टुडे २०८२ असार ५ गते १७:५४ मा प्रकाशित

काठमाण्डू, ५ असार– हिजो (बुधबार) मात्रै कम्बोडियाबाट पक्राउ गरेर काठमाण्डू ल्याइएका मितेरी सहकारी ठगी प्रकरणका अभियुक्त ज्योतिबहादुर भण्डारीविरुद्ध सात दिनको म्याद थप भएको छ ।

जिल्ला अदालत काठमाण्डूले लिखतसम्बन्धी कसुर र ठगीको कसुरमा अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो । कम्बोडियाबाट पक्राउ गरेर ल्याइएका भण्डारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार अदालत उपस्थित गराएको थियो ।

सो क्रममा नागरिकता, राहदानी र सहकारी ठगीको अनुसन्धान गर्न पहिलो पटक अदालतले सात दिनको म्याद दिएको सीआईबीका प्रवक्ता युवराज खड्काले जानकारी दिएका छन ।

दुई फरक नम्बरका नागरिकता र राहदानी रहेको खुलेपछि यस विषयमा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनको नाममा कास्की र बर्दियाबाट दुई फरक– फरक नागरिकता र राहदानी लिएको पाइएको छ ।

ललितपुरमा कार्यालय रहेको मितेरी सहकारीको रकम अपचलन गरेर उनी लामो समयदेखि फरार हुँदै आएका थिए । उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस समेत जारी भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us