पूर्वराष्ट्रपति ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा दोषी ठहर

काठमाण्डु टुडे २०८० वैशाख २७ गते १२:२४ मा प्रकाशित

एजेन्सी– अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहर भएका छन । उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको छ ।

एक म्यागेजिनकी लेखिका ई। जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । साथै उनले ट्रम्पमाथि आफ्नो मानहानी समेत गरेको आरोप लगाएकी थिइन् ।

सोही मुद्दामा ट्रम्पलाई दोषी ठहर्याएको बीबीसीले जानकारी दिएको छ । ट्रम्पले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा आफूलाई बलात्कार गरेको भन्ने केरलको आरोपमा भने अदालतले दोषी ठहर्याएको छैन ।

यो फैसलाले आगामी राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा झड्का पुराइदिएको छ । ट्रम्पले सामाजिक सन्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै अदालतको फैसला अपमानजनक भएको जानकारी दिएका छन ।

उनले ती महिलालाई आफूले नचिन्ने समेत बताएका छन । पूर्वराष्ट्रपति ट्रम्पका प्रवक्ताले जारी गरेको बयानमा ट्रम्प विरुद्धको अभियान अन्तर्गत अदालतको यो फैसला आएको भन्दै यो राजनीतिबाट प्रेरित भएको टिप्पणी गरेका छन । यो फैसलाविरुद्ध अपिल गर्ने ट्रम्पको योजना रहेको बीबीसीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us