
काठमाण्डु ,२६ वैशाख- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बीचको छलफल फिल्म देखाउनका लागि हो प्रश्न गरेका छन् ।
मङ्गलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवालले भने– ‘सभामुख महोदयमार्फत प्रधानमन्त्रीलाई यो संसद्मा स्पष्ट गराउनुपर्ने केही विषय राख्न चाहन्छु ।
नेपालीलाई भुटानी शरणार्थी बनाई मानव बेचबिखन गर्ने र अरबौँ ठगी गर्नेहरू को को हुन ? प्रधानमन्त्रीज्यूले फिल्म देखाउने भन्नुभएको थियो, अहिले दाहालजी, देउवाजी र ओलीजीको मिटिङ भइरहेको त्यो फिल्म देखाउनकै लागि हो कि? उनले ख्वप विश्वविद्यालयको विधेयक दर्ता भएर सांसदहरूलाई वितरण भइसकेर पनि अहिलेसम्म किन रोकिएको भन्दै प्रश्न समेत गरेका छन।
उनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर मानव बेचबिखन गरी अरबौँ ठगी गर्नेहरू सार्वजनिक गर्न माग गरेका छन।