
पोखरा, ९ जेठ– एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रििय प्रजातन्त्र पार्टी (राप्रपा) को समेत नेतृत्व माओवादी केन्द्रले गरिरहेको आरोप लगाएका छन् ।
पोखरामा आयोजित पार्टी सम्वद्ध युवा संघको १०औं राष्ट्रिय महाधिवेशन उदघाटन कार्यक्रममा पोखरेलले रास्वपा र राप्रपा माओवादीको पछिपछि हिंडेको बताए ।
उनले एमाले पार्टी र नेतृत्वविरुद्ध आक्रमण र घेराबन्दीको नेतृत्व माओवादीले गरेको र पछिपछि राप्रपा र रास्वपा हिंडेको दाबी गरे । उनीहरुले सत्ताबाट बाहिरिँदाको कुण्ठा एमालेको विरोध गरेर पोखिरहेको उनको भनाइ थियो ।
‘एमालेमाथि प्रहार गर्नेमा माओवादी पहिलो, रास्वपा दोस्रो र राप्रपा तेस्रो स्थानमा छन्’, पोखरेलले भने, ‘कुनैबेला माओवादीका लागि एमाले अपरिहार्य थियो । एमालेको नेतृत्व सबैथोक थियो । बालुवाटार माओवादी नेता–कार्यकर्ताको नियमित गन्तव्य बनेको थियो ।’
एमालेले सरकारमा रहेर कुनै गलत काम नगरेको जिकिर उनले गरे । नराम्रो काम नगर्दा पनि माओवादी नेता कार्यकर्ताले एमाले नेतृत्वमाथि लाञ्छना लगाएको दाबी पोखरेलको छ ।
यस्तै सभापति रवि लामिछाने प्रहरी हिरासतमा थुनिएपछि रास्वपा कार्यकर्ताले एमालेविरुद्ध कुण्ठा पोखेको टिप्पणी उनले गरे ।