
काठमाण्डु, २२ वैशाख– यो वर्षको पहिलो चन्द्रग्रहण आज शुक्रबार लाग्दै छ । यो चन्द्रग्रहण अरु बेलाको भन्दा विशेष रहेको छ यो चन्द्रग्रहणलाई पेनुमब्रल चन्द्रग्रहण भनिएको छ ।
चन्द्रग्रहण तीन प्रकारका हुन्छन्– पूर्ण, आंशिक र पेनुमब्रल । आजको चन्द्रग्रहण पेनुमब्रल हो । विशेष यसकारण कि अरु बेलामा जस्तो पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि देखिने छैन ।
पेनुमब्रलमा चन्द्रमामा पृथ्वीको पूरै छाया नभइ उपछाया मात्र पर्छ । यसलाई अंग्रेजीमा पेनुमब्रा भनिन्छ । यसमा पृथ्वीको हल्का छाया परेको मात्र देखिन्छ ।
त्यसैले आज चन्द्रग्रहण लाग्दा चन्द्रमाको आकारमा परिवर्तन आएको नदेखिने खगोलविदहरुले जनाएका छन् । चन्द्रमाको आकार अरु सामान्य दिनमै जस्तो देखिने छ ।
तर रंग भने हल्का गुलाबीजस्तो हुनेछ ।त्यसैले आजको चन्द्रग्रहणलाई खगोलविदहरुले विशेष मानेका छन् ।