
काठमाण्डू, ८ जेठ– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले फ्रेस हुनका लागि निजामती कर्मचारीहरूलाई कुलिङ पिरियडको व्यवस्था राखिएको बताएका छन । विधेयकमा कुलिङ पिरियडको प्रावधान राखिएको र सो विषय समितिबाट निर्णय भइसकेको भन्दै उनले संसद्मा छिटो पठाउनुपर्ने बताएका छन ।
उनले भने, ‘समितिले गर्ने निर्णय समितिकै हुन्छ । यहाँको निर्णय संसद्मा जान्छ, अहिले समिति आफूले गरेको निर्णयमा छिटोभन्दा छिटो सदनमा लैजाने गर्छ ।’ बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति खतिवडाले बाहिरिएको भोलिपल्टै अर्को कुनै निकायमा नियुक्त हुँदा स्वार्थको द्वन्द देखिने भएकाले कुलिङ पिरियडको प्रावधान ल्याएको प्रतिक्रिया दिए ।
उनले भने, ‘कुलिङ पिरियड भनेको, भारत, बंगलादेश, अमेरिकामा पनि छ । हामीले कोही कर्मचारीलाई अविश्वास गरेका होइनौं । उहाँहरू ३० वर्षसम्म सेवा गर्नुभएको छ, त्यसपछि दुईवर्ष रिचार्ज गर्नुहोस्, फ्रेस हुनुस् ।
यसको मतलब बाख्रा चराउनुस्, नातिनातिना खेलाउनुस् भनेको छैन नि ।’ सभापति खतिवडाले कुलिङ पिरियडको बिषयमा मुख्यसचिव लगाएतका सचिवहरुको चासो अस्वभाविक रहेको जिकिर गरे । ‘निजामती विधेयक भनेको कर्मचारीको संविधान हो । अब यो विधेयक बनाउने काम संवैधानिक असंवैधानिक के हो भन्ने जिम्मा तपाईंको र मेरो होइन । त्यसको अर्कै निकाय छ ।
हामीले एउटा निर्णय गरिसकेका छौं, त्यो पनि सर्वसम्मत,’ उनले भने, ‘रिचार्ज भएर देशका लागि आवश्यक पर्दा आउनुस् । चाहियो भने जतिबेला पनि सरकारले लिनसक्छ ।’