
काठमाण्डु,१५ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन आजै फिर्ता हुनसक्ने बताएका छन ।
आज (शुक्रबार) सिंहदरबारमा सांसद पदको सपथ लिएलगतै पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन ।
उनले सरकारमा जाने कुरामा सोचाई नभएको र त्यस किसिमको वातावरण नबनेको बताएका छन ।
उनले सरकारलाई दिएको समर्थनको विषयमा के गर्ने सोच्नुपर्ने विषय भएको बताउँदै पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकमा यसबारे छलफल गरेर निर्णय लिने जानकारी दिएका छन ।
उनले आफ्नो दल अस्थिरताको पक्षमा नरहेको पनि बताएका छन । तर सरकारले आफूले समर्थन पाइरहुँ भन्नका लागि न्यूनतम ठाउँ राख्नुपर्ने र त्यो ठाउँ राखेको छ कि छैन भन्ने कुरा पुनरावलोकनको विषय बनेको उनले बताएका छन ।
उनले यसबारेमा पार्टीमा र संसदीय दलमा छलफल गरेर मात्र अगाडि बढ्ने बताएका छन । लामिछानेले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरा भएको विषयबारेको जिज्ञासामा भने– ‘प्रधानमन्त्रीले बधाई दिनको लागि मात्र फोन गर्नुभएको हो । यस्तो सुनेको थिएँ के हो भनेर चासो सम्म राख्नुभएको थियो ।
सरकार सम्बन्धी त्यस्तो गम्भीर छलफल भएको हैन, उहाँले मलाई बधाई दिन फोन गर्नुभएको थियो ।’
उनले चुनावका बेलामा हेलिकप्टर लिएर गएर मन्त्री पद नै दिने जस्ता आश्वासन बाँडेका लगायतका विषयमा गम्भीर समीक्षा हुनुपर्ने बताएका छन ।