लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ११ वैशाखमा पुनः विश्वासको मत लिने

काठमाण्डु टुडे २०८० वैशाख ४ गते १६:२२ मा प्रकाशित

काठमाण्डु, ४ वैशाख– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ११ वैशाखमा पुन दोस्रोपटक विश्वासको मत लिने भएका छन ।

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजे आयोजना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन ।

२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका गिरीले माघ ५ गते पहिलोपटक विश्वासको मत प्रप्त गरेका थिए । राष्ट्रपतिको चुनावसंगै केन्द्रमा बदलिएको सत्ता समीकरण अनुसार नेकपा माओवादी केन्द्रलगायतका दलले १२ चैतमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गिरीले पुन विश्वासको मत लिन लागेका हुन् ।

लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी केन्द्रसहित प्रदेश सभाका १० दलमध्ये ८ दल र एक जना स्वतन्त्र गरी ५३ सांसदले कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् । ८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवाश्यक पर्द छ ।

अहिले एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् । एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले संविधानको धारा १६८ (३) अनुसार सरकारको नेतृत्व दाबी गर्ने तयारी गरेको एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले जानकारी दिएका छन ।

विपक्षी गठबन्धनले मुख्यमन्त्री गिरीले बहुमत गुमाइसकेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने र १६८ (२) अनुसार बहुमत सांसदको समर्थन प्राप्त कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us