२७०६ विन्दुमा उक्लियो नेप्से, ९ अर्ब ५० करोडको कारोबार

काठमाण्डु टुडे २०८२ असार २२ गते १६:१३ मा प्रकाशित

काठमाण्डू, २२ असार–साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक सामान्य रूपमा वृद्धि भएको छ ।

 नेप्से २.४० अंकले बढ्दै २७०६.३६ विन्दुमा पुगेर बन्द भएको हो । सूचकमा हरियाली देखिए पनि कुल कारोबार रकम भने केही घटेको देखिएको छ ।

अघिल्लो कारोबार दिन बिहीबार ९ अर्ब ६४ करोडको सेयर किनबेच भएको थियो भने आइतबार यो रकम घटेर ९ अर्ब ५० करोडमा झरेको छ । अर्थात् कारोबार रकममा १४ करोडको गिरावट आएको हो ।

आइतबार कूल ३११ वटा धितोपत्रहरूमा कारोबार भएको थियो । जसअन्तर्गत २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर किनबेच भए ।

यस दिन ८७ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ भने १६२ कम्पनीका मूल्यमा गिरावट आएको छ । बाँकी कम्पनीहरूको मूल्य स्थिर रह्यो ।

नेपाल फाइनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै सर्वाधिक लाभ कमाउने कम्पनीको रूपमा देखिएको छ । त्यसैगरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ७.३६ प्रतिशतले वृद्धि भई २,२७५.२७ मा कायम भयो ।

अर्कोतर्फ, गुडविल फाइनान्सको डिबेञ्चर मूल्य ८.८७ प्रतिशतले घट्दै रु. १,३०८.३० मा झरेको छ । त्यस्तै, ग्रीन डेभलपमेन्टको सेयर मूल्य ८.५८ प्रतिशतले घटेर १,४७१.०३ मा सीमित रह्यो ।

कारोबारको आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी अगाडि देखियो। कम्पनीको प्रतिकित्ता मूल्य ३११ कायम हुँदै करिब  ४९ करोड ४० लाख बराबरको कारोबार भएको हो, जुन अघिल्लो दिनको तुलनामा ४.९४ प्रतिशतले वृद्धि हो ।

लक्ष्मी बैंकको संस्थापक सेयर दोस्रो स्थानमा रह्यो, जहाँ प्रतिकित्ता  १०० मूल्यका सेयरहरूबाट करिब ३७ करोड ८१ लाखको कारोबार भयो ।

समूहगत परिसूचकतर्फ हेर्दा, जम्मा १३ समूहहरूमध्ये ७ समूहको सूचकमा वृद्धि भएको छ भने ६ समूह घटेका छन् ।

अन्य समूहको भने ३.०६ प्रतिशतको उल्लेखनीय वृद्धि भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us